Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, १५ फागुन २०८२ । भ्रष्टाचारको आरोप लगाइएका भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई त्यहाँको अदालतले सफाइ दिएको छ । राजधानी दिल्लीको राउज एभिन्यु अदालतले उनीहरूलाई सफाइ दिएको हो ।

उनीहरूबाहेक अरू २१ जनालाई पनि मुद्दामा राहत दिइएको छ । सफाइ पाउनेमा तेलंगाना जागृति पार्टीकी के. कविता पनि छिन् ।

विशेष न्यायाधीश जितेन्द्र सिंहले केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) द्वारा आरोपितविरुद्ध दर्ता गरिएको मुद्दा बन्द गर्ने आदेश सुनाएका थिए । अदालतले २३ आरोपितमध्ये कोहीविरुद्ध पनि मुद्दा नचल्ने फैसला गरेको छ ।

अदालतले सरकारी साक्षीको बयानका आधारमा मुद्दा बनाइएको भन्दै सीबीआईलाई सचेत समेत गराएको छ । अदालतले भनेको छ, “यसप्रकारको आचरणलाई अनुमति दिइयो भने यो संवैधानिक सिद्धान्तको गम्भीर उल्लंघन हुनेछ । यस्तो आचरण जहाँ आरोपितलाई माफी दिइन्छ र त्यसपछि उसलाई सरकारी साक्षी बनाइन्छ । उसको बयानलाई अनुसन्धान विवरणमा रहेका कमी–कमजोरी भर्न र अरू व्यक्तिहरूलाई आरोपित बनाउन प्रयोग गरिनु गलत हो ।”

सीबीआईले सन् २०२२ मा उपराज्यपाल वीके सक्सेनाको उजुरीका आधारमा यो मामला दर्ता गरेको थियो । सन् २०२१–२२ को आबकारी नीतिमा केही विशेष व्यक्तिलाई फाइदा पुर्‍याउने उद्देश्यले हेरफेर गरिएको आरोप थियो ।

आम आदमी पार्टी र यसका नेताहरूले आबकारी नीतिमा हेरफेर गरेबापत रक्सी उत्पादकबाट घुस लिएका सीबीआईको आरोप थियो । पक्राउ गरी उनीहरूलाई जेलमा राखिएको थियो । अदालतले यी आरोप खारेज गरिदिएको छ ।

 

तपाईको प्रतिक्रिया