काठ्माडोैं, १४ फागुन २०८२ । गुगलले संगठित र खतरनाक अन्तर्राष्ट्रिय साइबर जासुसी नेटवर्कलाई ध्वस्त पारेको दाबी गरेको छ ।
गुगलले चीनसँग जोडिएको एक ह्याकिङ समूह ‘यूएनसी२८१४’ (जसलाई ग्यालियम पनि भनिन्छ) ले विश्वका ४२ देशका कम्तीमा ५३ प्रमुख संस्थाहरूको तथ्यांक (डाटा) मा अनधिकृत पहुँच बनाएको बुधबार बताएको छ ।
गुगल थ्रेट इन्टेलिजेन्स ग्रुपका मुख्य विश्लेषक जोन हल्टक्विस्टले यो एक विशाल जासुसी संयन्त्र भएको र यसको उद्देश्य विश्वव्यापी स्तरमा व्यक्तिहरू र विशिष्ट संस्थाहरूको निगरानी गर्नु रहेको बताएका छन् । यो समूह करिब एक दशकदेखि सक्रिय छ ।
गुगलले यो कुनै उत्पादनको प्राविधिक त्रुटि नभई प्लेटफर्मको दुरुपयोग भएको स्पष्ट पारेको छ । ह्याकरहरूले ‘ग्रिडटाइड’ नामक एक गुप्त ‘ब्याकडोर’ स्थापना गरेका थिए, जसका माध्यमबाट उनीहरूले मानिसको नाम, फोन नम्बर, जन्म मिति, मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रजस्ता निजी तथ्यांकहरूमा पहुँच प्राप्त गरेका थिए ।
हल्टक्विस्टले यो जासुसी नेटवर्कले विशेष गरी सरकारी निकायहरू र दूरसञ्चार कम्पनीहरूलाई आफ्नो निशाना बनाउँदै आएको बताएका छन् ।
यद्यपि, गुगलले तत्काल कारबाही गर्दै ह्याकिङ समूहद्वारा नियन्त्रित ‘क्लाउड प्रोजेक्ट’लाई बन्द गरिदिएको र उनीहरूको इन्टरनेट पूर्वाधारलाई निष्क्रिय पारेको बताएको छ ।
यी हमलाहरूको मुख्य उद्देश्य ‘कल डाटा रेकर्ड’ र एसएमएस सन्देशहरू चोरी गर्नु रहेको बताइएको छ । रोयटर्स






