काठमाडौं, ६ फागुन २०८२ । रुसको तेल ढुवानी गर्ने छद्म ट्यांकरविरुद्ध लगाइएको प्रतिबन्धको हिस्सास्वरूप पश्चिमी शक्तिहरूले रुसी जहाजहरू कब्जा गर्न थालेको भन्दै त्यसलाई रोक्न नौसेना तैनाथ गर्न सकिने चेतावनी एक वरिष्ठ क्रेमलिन अधिकारीले दिएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी तथा ढुवानी मामिला हेर्ने क्रेमलिन सल्लाहकार निकोलाई पात्रुसेभले मंगलबार रुसले विशेषगरी बेलायत, फ्रान्स र बाल्टिक राष्ट्रहरूलाई कडा सन्देश दिन आवश्यक रहेको बताएका छन् ।
मस्कोको ‘अर्गमेन्टी इ फ्याक्टी’ पत्रिकासँग कुरा गर्दै पात्रुसेभले भने, “सधैँझैँ जलयात्रा सुरक्षाको सबैभन्दा उत्तम ग्यारेन्टी नौसेना नै हो भन्ने हाम्रो विश्वास छ ।” उनले रुसी ढुवानीमाथि पश्चिमी देशहरूले पाइरेसी (तस्करी) जस्तै आक्रमण गरिरहेको टिप्पणी गरे ।
उनले चेतावनी दिँदै भने, “यदि हामीले दृढताका साथ प्रतिरोध गरेनौँ भने, अंग्रेज, फ्रान्सेली र बाल्टिकहरूले चाँडै नै हाम्रो देशका लागि कम्तीमा एट्लान्टिक बेसिनका समुद्रहरूमा पहुँच रोक्ने दुस्साहस गर्नेछन् ।”
पात्रुसेभले आफ्नो अर्थतन्त्र सञ्चालन गर्न रुसले तेल, खाद्यान्न र मल ढुवानी गर्न पाउनुपर्ने बताए । उनले मस्कोका पश्चिमी विरोधीहरूले ढुवानीजस्तो रुसी अर्थतन्त्रको सबैभन्दा महत्त्वपूर्ण क्षेत्रलाई निसाना बनाएको आरोप लगाए । उनले भने, “रुसभन्दा टाढाका क्षेत्रहरूसहित मुख्य समुद्री क्षेत्रहरूमा स्थायी रूपमा पर्याप्त बल तैनाथ गरिनुपर्छ, जसले पश्चिमी समुद्री डाकाहरूको जोशलाई चिसो पार्न सकोस् ।”
उनले भेनेजुएला र इरानका मामिलामा वासिङ्टनले स्पष्ट रूपमा ‘गनबोट डिप्लोमेसी’ अपनाइरहेको र पश्चिमी शक्तिहरूले आफ्ना नौसेनामा आमूल प्राविधिक परिवर्तन र आधुनिकीकरण गरिरहेको पनि बताए । नेटो सैन्य गठबन्धनले बाल्टिक सागरमा रहेको रुसी क्षेत्र कालिनिनग्रादलाई नाकाबन्दी गर्ने योजना बनाइरहेको रुसको विश्वास छ ।
पात्रुसेभले थपे, “आफ्ना नौसैनिक नाकाबन्दी योजनाहरू लागु गरेर युरोपेलीहरूले जानाजानी सैन्य तनाव बढाउने बाटो रोजिरहेका छन्, हाम्रो धैर्यताको परीक्षा लिइरहेका छन् र सक्रिय जवाफी कारबाहीका लागि उक्साइरहेका छन् । यदि यस स्थितिको शान्तिपूर्ण समाधान हुन सकेन भने, नौसेनाद्वारा नाकाबन्दी तोडिनेछ र समाप्त गरिनेछ ।”
‘युरोपेली प्रतिबन्ध छल्नुको मूल्य चुकाउनुपर्छ’
गत जनवरीमा अमेरिकी विशेष बलले हप्तौँ लामो पिछा गरेपछि उत्तर एट्लान्टिकमा भेनेजुएलासँग सम्बन्ध रहेको रुसी झन्डावाहक तेल ट्यांकर कब्जामा लिएको थियो, जसको मस्कोले कडा आलोचना गरेको थियो । अमेरिकी सेनाले ‘मारिनेरा’ नामक उक्त तेल ट्यांकर भेनेजुएलामाथिको अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोपमा कब्जा गरिएको बताएको थियो । रुसको यातायात मन्त्रालयले भने उक्त अमेरिकी कदमले अन्तर्राष्ट्रिय समुद्री कानुन उल्लंघन गरेको जनाएको थियो ।
त्यस्तै, जनवरीमै फ्रान्सेली अधिकारीहरूले स्पेन र मोरक्कोको बीचमा रहेको भूमध्यसागरमा ‘ग्रिन्च’ नामक ट्यांकरमा छापा मारेका थिए । उनीहरूले उक्त जहाज मस्कोको ‘छाया फ्लीट’ (छद्म ट्यांकर) को हिस्सा भएको आरोप लगाएका थिए । पश्चिमी देशहरूका अनुसार, रुसले युक्रेनमाथिको आक्रमणका कारण लगाइएका प्रतिबन्धहरू छल्न यस्ता व्यापारिक जहाजहरूको नेटवर्क प्रयोग गर्दै आएको छ ।
रुसबाट यात्रा सुरु गरेको ‘ग्रिन्च’लाई दक्षिणी फ्रान्सेली सहर मार्से नजिकैको बन्दरगाहमा पुर्याइएको थियो । मंगलबार फ्रान्सले उक्त जहाजका मालिकले करोडौँ युरो जरिबाना तिरेपछि ‘ग्रिन्च’लाई छोडिदिएको बताएको छ । फ्रान्सेली विदेशमन्त्री जीन–नोएल बारोटले सामाजिक सञ्जाल एक्समा लेखे, “ट्यांकर ग्रिन्चले धेरै मिलियन युरो तिरेपछि र तीन हप्ताको महँगो अवरोध खेपेपछि फ्रान्सेली जलक्षेत्र छोड्दैछ ।”
उनले थपे, “युरोपेली प्रतिबन्धहरूलाई बाइपास गर्नुको ठूलो मूल्य चुकाउनुपर्छ । रुस अब हाम्रा तटहरूबाट निर्बाध रूपमा छद्म ट्यांकर प्रयोग गर्दै आफ्नो युद्धलाई वित्तपोषण गर्न सक्षम हुनेछैन ।”
सेप्टेम्बर २०२५ मा फ्रान्सेली अधिकारीहरूले ‘बोराकाय’ नामक अर्को रुससँग सम्बन्धित जहाजलाई हिरासतमा लिएका थिए, जसले बेनिनको झन्डा प्रयोग गरेको दाबी गरेको थियो । पुटिनले उक्त कदमलाई पाइरेसी (डकैती) भन्दै निन्दा गरेका थिए । बोराकायका चिनियाँ क्याप्टेनमाथि अर्को हप्ता फ्रान्समा मुद्दा चलाइने बताइएको छ ।
युरोपेली संघका अधिकारीहरूले रुसको छद्म ट्यांकर फ्लीटको हिस्सा भएको आशंकामा ५९८ वटा जहाजहरूको सूची तयार पारेका छन्, जसलाई युरोपेली बन्दरगाह र समुद्री सेवाहरूमा प्रतिबन्ध लगाइएको छ ।






