Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, ५ माघ २०८२ । उत्तरी चीनको एक कारखानामा भएको शक्तिशाली विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार सो विस्फोटमा परी ८४ जना घाइते भएका छन् भने पाँचजना बेपत्ता छन् ।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

विस्फोट आइतबार स्थानीय समय अनुसार दिउँसो करिब ३ बजे इनर मंगोलियास्थित ‘बाओगाङ युनाइटेड स्टिल प्लान्ट’ मा भएको हो । शक्तिशाली विस्फोट हुँदा वरपरको क्षेत्रमा ठूलो धक्का महसुस गरिएको थियो ।

विस्फोटपछि आकाशमा धुवाँको ठूलो मुस्लो र जमिनमा जताततै भग्नावशेष छरिएको भिडियोमा देखिएको छ । भवनका छाना र पाइपका टुक्राहरू पनि छरिएका छन् ।

अधिकारीहरूले विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेका छन् ।

बाओगाङ युनाइटेड स्टिल चीनको सरकारको स्वामित्वमा रहेको एक ठूलो फलाम र इस्पात उत्पादन गर्ने कम्पनी हो ।

चीनमा औद्योगिक दुर्घटनाको इतिहास लामो छ, जसमा कारखाना विस्फोट, खानी भत्किने र पहिरो जानेजस्ता घटनाहरू बारम्बार दोहोरिने गरेका छन् ।

तपाईको प्रतिक्रिया