Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठ्माडौं, १४ पुस २०८२ । डिसेम्बर १२ मा हतियारधारी समूहले बंगालादेशको राजधानी ढाकामै ओस्मान हादीमाथि गोली प्रहार गरे । हादी गत वर्ष जुलाई २०२४ मा शेख हसिनाको नेतृत्ववाला आवामी लिग सरकारको पतनका एक विद्रोही नेताका रूपमा परिचित थिए ।

टाउकोमा गोली लागेका हादीलाई तत्काल उपचारका लागि सिंगापुर लगियो । तर, उनी जीवित पर्किएनन् । उनको उपचारकै क्रममा मृत्यु भयो ।

हसिना सरकारको पतनपछि हादीले इन्कलाब मञ्च प्लेटफर्म गठन गरेका थिए र आगामी फेब्रुअरीमा संसदीय चुनाव लड्ने तयारीमा थिए । तर, बंगलादेश प्रहरीले हादीको हत्यारा अझै पक्राउ गर्न सकेको छैन । बंगलादेशको ढाका महानगरीय प्रहरी (डीएमपी) ले सरिफ ओस्मान हादीको हत्यारा भागेर भारत पुगेको दाबी गरेको छ ।

हादी हत्याका दुई मुख्य संदिग्धहरू डिमेन्ससिंह जिल्लाको हलुआघाट सीमाबाट मेघालयसँग जोडिएको क्षेत्र हुँदै भारत भागेको आइतबार पत्रकार सम्मेलनमार्फत ढाका प्रहरीले दाबी गरेको छ ।

हादीको हत्यामा संलग्न फैसल करिम मसुद र आलमगिर शेख भारतीय राज्य मेघालयमा प्रवेश गरेको ढाकाबाट प्रकाशित हुने ‘द डेली स्टार’ले समेत उल्लेख गरेको छ । हादीको गोली प्रहारलगत्तै अज्ञात आक्रमणकारीले नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदरमाथि गोली प्रहार गरेका थिए ।

डिसेम्बर २२ मा उनीमाथि गोली प्रहार गरिएको थियो । उनको उपचार जारी छ । एनसीपी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको आन्दोलनपछि गठित पार्टी हो । हाल हासिना भारतको शरणमा छन् । सोही कारण भारत–बंगलादेशको दूरी बढेको छ ।

दुई देशको तनाब बढेसंगै भारतसित सीमा जोडिएका नेपालका पूर्वी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा जाँचमा कडाइ गरेको छ । बंगलादेशमा हिंसात्मक घटनापछि शंकास्पद व्यक्तिहरू भारत हुँदै नेपालसमेत प्रवेश गर्ने जोखिम देखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त जाँच नै गर्न थालेका हुन् ।

इलाका प्रहरी काँकडभित्ता प्रहरीका प्रमुख डीएसपी राजन लामाले जाँचमा कडाइ गरिएको बताए । उनले भने, “हाम्रो नियमित जाँच नै हुँँन्छ । तर, अहिले थप कडाइ गरेका छौँ । शंकास्पद व्यक्ति कुनै पनि बहानामा नेपाल नछिरून् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।”

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाले पनि भारतसित सीमा जोडिएका पूर्वदेखि पश्चिमसम्मै सबै आउट बोर्डर पोस्ट (बीओपी) का कमान्डरहरूलाई केन्द्रबाट नै जाँचमा कडाइ गर्न निर्देशन दिएको बताए ।

डीआईजी थापाले भने, “बंगलादेशको अवस्था तनाव भएपछि हामीले केन्द्र र सम्बन्धित वाहिनीहरूले पनि बोर्डरमा खटिने कमान्डरहरूलाई त्यहीअनुसारको निर्देशन दिएको छ । शंकास्पद व्यक्तिहरू देखिए भारतीय सीमा बलसँगसमेत सहकार्य गर्ने गरेका छौँ ।’’

प्रहरीले नेपाल प्रवेश गर्ने भारतीय नागरिकको परिचयबिना प्रवेशमा रोक लगाएको छ । काँकडभिट्टा प्रहरीका डीएसपी राजन लामाले नेपाल प्रवेश गर्ने भारतीय नागरिकहरूको फोटो तथा विस्तृत विवरण राखेर मात्रै प्रवेश अनुमति दिइएको बताए ।

सरकारले फागुन २१ मा तोकेको संघीय सांसदको चुनावसमेत नजिकिँदै गएपछि थप सुरक्षा व्यवस्था कडा पार्दै आएको छ । चुनामा शंकास्पद गतिविधि हुने भन्दै देशभरकै सुरक्षा व्यवस्था बलियो बनाउन गृह मन्त्रालले प्रहरी प्रधान कार्यालय तथा मातहतका सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

 

तपाईको प्रतिक्रिया