काठमाडौँ, ११ पुस २०८२ । बिरामीलाई मुक्का हान्दै गरेको भारतीय चिकित्सकको भिडियो भाइरल भएपछि चिकित्सकलाई निलम्बित गरिएको छ । भारतको उत्तरी राज्य हिमाचल प्रदेशको राजधानी शिमलास्थित एक सरकारी अस्पतालका सिनियर रेजिडेन्ट चिकित्सकलाई निलम्बन गरी उनीविरुद्ध मुद्दा दर्ता गरेको साउथ चाइना मोर्निङ पोष्टले जनाएको छ ।
अस्पतालको वार्डभित्रै एक बिरामीलाई लगातार मुक्का प्रहार गरिरहेको दृश्य समेटिएको भिडियो भाइरल भएपछि उनीमाथि छानबिन सुरु भएको हो ।
सोमबार इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (आईजीएमसी) मा एक कुरुवाले खिचेको मोबाइल फुटेजमा मास्क लगाएका चिकित्सकले बेडमा सुतिरहेका एक व्यक्तिलाई मुक्का प्रहार गरिरहेको देखिन्छ । सोही समयमा अर्का एक कर्मचारीले बिरामीको खुट्टा समातेर उनलाई प्रतिकार गर्नबाट रोकेको देखिन्छ ।
प्रहरीले श्वासप्रश्वास औषधि (पल्मोनरी मेडिसिन) विभागका ३१ वर्षीय चिकित्सक डा। राघव नरुलाविरुद्ध फौजदारी उजुरी दर्ता गरेको छ । अस्पताल प्रशासनले घटनाको छानबिन गर्न र दोषी पहिचान गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
‘तँ’ भनेपछि विवाद
३६ वर्षीय बिरामी अर्जुन पनवारले चिकित्सकले आफूलाई ‘तँ’ भनेर बोलाएकोमा आपत्ति जनाएपछि विवाद सुरु भएको बताइएको छ । पनवारले एनडीटीभीसँग भने, “मेरो भर्खरै ब्रोन्कोस्कोपी गरिएको थियो । मलाई सास फेर्न गाह्रो भइरहेको थियो । मैले अक्सिजन माग्दा डाक्टरले मेरो भर्नाको अवस्थाबारे प्रश्न गरे र रुखो व्यवहार गरे ।”
उनले थपे, “मैले उनलाई सम्मानपूर्वक बोल्न आग्रह गरेँ, तर उनी झन् आक्रामक भए । मैले ‘तपाईं परिवारसँग पनि यसरी नै बोल्नुहुन्छ रु’ भनी सोध्दा उनले व्यक्तिगत कुरा निकालेको भन्दै मलाई कुटपिट गर्न थाले ।”
सरकार र अस्पतालको प्रतिक्रिया
हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुको आदेशमा आन्तरिक छानबिन समिति गठन गरिएको हो । उनले यस घटनालाई अस्वीकार्य भनेका छन् । प्रदेशका स्वास्थ्य मन्त्री धनिराम शान्डिलले गल्ती प्रमाणित भएमा कडा कारबाही गरिने बताएका छन् ।
निलम्बनपछि डा. नरुलाले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै कुनै पछुतो नभएको बताएका छन् । उनले बिरामीले बिना उक्साहट आफूलाई गालीगलौज गरेको आरोप लगाए ।
नरुलाले भने, “तपाईंहरूले केवल १०–१५ सेकेन्डको भिडियो देख्नुभएको छ । तर, विवाद त्यसअघि नै ५–१० मिनेटदेखि सुरु भएको थियो ।” उनले बिरामीले आफूलाई फलामको रडले प्रहार गर्न खोजेको र आफूले आत्मरक्षाका लागि मात्रै मुक्का प्रहार गरेको दाबी गरेका छन् ।
यस घटनाले हिमाचल प्रदेशमा राजनीतिक विवादसमेत निम्त्याएको छ । विपक्षी नेताहरूले यसलाई सरकारी अस्पतालहरूको खस्कँदो अवस्थाको उदाहरणका रूपमा चित्रण गरेका छन् भने चिकित्सक संघहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । माइन्युजबाट ।






