Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठ्माडौं, १० पुस २०८२ । बंगलादेशमा भिडले फेरि अर्का एक हिन्दु युवकलाई कुटपिट गरी हत्या गरेको छ । घटना बुधबार राति करिब ११ बजे राजबाडी जिल्लाको होसेनडांगा गाउँमा भएको हो । प्रहरीका अनुसार, मृतक २९ वर्षीय अमृत मण्डल उर्फ सम्राटका हुन् ।

प्रहरीका अनुसार, अमृतलाई भिडले जबरजस्ती वसुलीको आरोपमा हत्या गरेको हो । उनी सोही होसेनडांगा गाउँका बासिन्दा थिए ।

प्रहरीले अमृतविरुद्ध पांशा प्रहरी स्टेसनमा दुईवटा मुद्दा दर्ता भएको बताएको छ । तीमध्ये एक हत्याको मुद्दा पनि समावेश थियो । यसअघि १८ डिसेम्बरमा ढाकानजिकै हिन्दु युवक दीपुचन्द्र दासलाई भिडले हत्या गरेको थियो । पछि उनलाई रुखमा झुन्ड्याएर जलाइएको थियो ।

डेली स्टारका अनुसार स्थानीयहरूले अमृतमाथि अपराधी गिरोह चलाएको आरोप लगाएका छन् । रिपोर्टअनुसार उनीमाथि लामो समयदेखि जबरजस्ती गैरकानुनी असुली र अन्य आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लगाइएको थियो ।
भारतमा लामो समय लुकेर बसेपछि उनी हालै घर फर्किएका पनि बताइएको छ । अमृतले गाउँले शाहिदुल इस्लामसँग जबरजस्ती असुली गर्दै रकम मागेको बताइएको छ ।

२४ डिसेम्बरको राति अमृत र उनका साथीहरू शाहिदुलको घर पैसा लिन गएका थिए । घरधनीले ‘चोर–चोर’ भन्दै चिच्याएपछि स्थानीयहरू घटनास्थलमा पुगे र अमृतलाई कुटेर मारेका थिए । उनका अन्य साथीहरू भाग्न सफल भएका थिए । तर सलिम नाम गरेका एकजना हतियारसहित पक्राउ परे ।

दीपुदासलाई लगाइएको निन्दाको आरोप झुटो
यसैबीच बंगलादेशमा १८ डिसेम्बरको राति हिन्दु युवक दीपुचन्द्र दासको ज्यान गएको घटनाको अनुसन्धानमा धार्मिक भावना चोट पुर्‍याएको दाबीमा कुनै प्रमाण नपाइएको बताइएको छ ।

सामाजिक सञ्जालमा दीपुचन्द्र दासले फेसबुकमा धार्मिक भावना चोट पुर्‍याएको आरोप लगाइएको थियो, तर अनुसन्धान निकायहरूका अनुसार हालसम्म यस्तो कुनै पोस्ट वा टिप्पणीको प्रमाण भेटिएको छैन ।

बंगलादेशको र्‍यापिड एक्सन बटालियनका कम्पनी कमान्डर मोहम्मद शम्सुज्जमानले बंगलादेशी अखबार ‘द डेली स्टार’ लाई अनुसन्धानमा दीपू दासले फेसबुकमा कुनै आपत्तिजनक वा धार्मिक भावना भड्काउने सामग्री पोस्ट गरेको प्रमाणित हुने कुनै साक्ष्य नभेटिएको बताए । यस मुद्दामा हालसम्म १२ जनालाई पक्राउ गरिएको छ ।

 

तपाईको प्रतिक्रिया