काठमाडौं, ५ पुस २०८२ । बंगलादेशको मैमनसिङ जिल्लामा लट्ठीले कुटपिट गरी एक अल्पसंख्यक हिन्दु युवकको हत्या घटनामा सातजनालाई पक्राउ गरिएको छ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले शनिबार यसबारे जानकारी दिएका बीबीसी हिन्दीले जनाएको छ ।
गएको साता गोली हानी ‘इन्कलाब मञ्च’का हादी उस्मानको हत्या गरिएको थियो । हादीले बंगलादेशमा विद्यार्थी आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका थिए । त्यसपछिको हिंसामा हिन्दु युवकको हत्या गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार, कुटपिट गरी युवकको हत्यापश्चात् शव रुखमा बाँधेर आगो लगाइएको थियो ।
मोहम्मद युनुसले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “र्यापिड एक्सन बटालियन (आरएबी) ले मैमनसिङको भालुका क्षेत्रमा २७ वर्षीय दीपुचन्द्र दासको कुटपिट गरी हत्या गरिएको घटनासँग सम्बन्धित सात संदिग्धलाई पक्राउ गरेको छ ।”
पक्राउ परेकामा मोहम्मद लिमोन सरकार (१९), मोहम्मद तारिक हुसैन (१९), मोहम्मद मानिक मिया (२०), इरशाद अली (३९), निजुम उद्दिन (२०), आलमगीर हुसैन (३८) र मोहम्मद मिराज हुसैन आकान (४६) छन् ।
बिहीबार उपचारका क्रममा हादीकोे मृत्यु भएको थियो । उक्त घटनापछि राजधानी ढाकामा ठूलोस्तरमा हिंसात्मक प्रदर्शन भएको छ । सोही दिन ढाकास्थित दुई प्रमुख पत्रिका — प्रथम आलो र डेली स्टारका कार्यालयमा तोडफोड तथा आगजनी समेत गरिएको थियो ।






