Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

महोत्तरी, २९ माघ । महोत्तरीमा घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट भागेका छन् ।

औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि भागेका हुन् ।

मंगलबार दिउँसो उनलाई अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको ५/६ जनाको टोलीले नवदुर्गा सःमिलबाट नियन्त्रणमा लिएको थियो । तर उनी अख्तियार टोलीलाई छलेर भागेका हुन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भागेका असईको खोजी भइरहेको बताएका छन् । ‘असईको खोजीमा हामीले प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेका छौं, अन्य कुरा अख्तियारले बताउला’ उनले भने ।

स्रोतका अनुसार असई साहलाई पक्राउ गर्न अख्तियारको टोली बर्दिबासबाट औरही आएको जानकारी पाएपछि उनी नजिकैको स:मिलमा गएका थिए । प्रहरीले स:मिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पक्राउ गरेर प्रहरी चौकीतर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरेका थिए । त्यही क्रममा दुबै जना फरार भएका हुन् ।

तपाईको प्रतिक्रिया