Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

प्रधानमन्त्री – केपी शर्मा ओली,  गृह मन्त्री – माओवदीबाट,  उप–प्रधानमन्त्री – इश्वर पोखरेल
पार्टी अध्यक्ष – प्रचण्ड,  महा–सचिव – भिम रावल

काठमाण्डौं–ओली र प्रचण्डबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएकोे छ। केही दिनभित्रै पार्टी एकता संयोजन समितिको बैठक बोलाएर एकता प्रक्रिया अगाडि बढाउने समझदारी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

मूल राजनीतिक तथा सैद्धान्तिक विषयमा दुई वाम पार्टीबीच कुनै द्विविधा र आशंका नभएको तर सांगठनिक तथा नेतृत्वको कार्यविभाजनका विषय सहमतिमा हल गरेर जान एकता प्रक्रियामा सहभागी नेता सक्रिय छन् ।
एकता पछिको पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्भावना छ । एमालेको एउटा गुटले प्रचण्डलाई एकता पछिको पार्टी अध्यक्ष नस्वीकार्ने मनोविज्ञान बोकेका कारण पार्टी एकताको काम विलम्भ भएको छर्लङग छ । नयाँ बन्ने सरकारको प्रधानमन्त्री भने एमाले अध्यक्ष केपी शर्मा ओली हुने पक्का छ । माओवादीले भने सरकार गठन र पार्टी एकता संगसंगै गर्नुपर्नेमा जोड दिदै आएको छ ।

एकता प्रक्रिया, सरकार गठन, नेताको कार्य विभाजनलगायत विषयमा दुवै पार्टीले आफ्ना अध्यक्षलाई जिम्मा दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सहमतिका साथ ल्याउने एकताको खाकालाई स्वीकार्ने नेताहरुको भनाइ छ ।

पार्टी अध्यक्ष पछिको शक्तिशाली पद महासचिव मानिन्छ । एमाले–माओवादीबीचको एकता पछिको महासचिव को बन्ला ? बन्ने चर्चा सामान्य रुपमा उठेपनि यस विषयले ठुलो स्थान पाउन सकेको छैन् । एक सुत्रका अनुसार पार्टी एकता पछिको महासचिव एमाले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलमध्ये एकजना हुनेछन् । वरियता, पार्टीिभत्र र बाहिर प्रभावशाली नेताको रुपमा कहलिएका रावलको सम्भावना बढेको देखिन्छ । रावल पटक–पटक मन्त्री भईसकेका छन् । ईश्वर पोखरेललाई गृहबाहेक उप–प्रधानमन्त्री सहित जुनसुकै मन्त्रालय दिने एमालेभित्र वहस सुरु भएको छ । किनकी एमालेभित्रको एउटा गुटको नेतृत्व गर्ने एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुने र अर्को गुटका भीम रावल पार्टी महासचिव हुने गृहकार्यमा जुटेको बुझिएको छ । सरकारको नेतृत्वलाई भागवण्डाको आधारमा हेर्ने हो भने ओली प्रधानमन्त्री भए माओवादीले गृहमन्त्रालयको जिम्मेवारी पाउने छ ।

तत्कालका लागि एकता प्रक्रियाको समयबद्ध कार्ययोजनाका खाका तयार पार्ने, एकता महाधिवेशनबाट प्रक्रियालाई मूर्तरुप दिने र सरकार गठन गर्ने तयारी भइरहेको छ । मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नका लागि एउटै कम्युनिष्ट पार्टी बनाउने भन्ने विषयले दुवै पार्टीको नेता र कार्यकर्तामा मात्र होइन, जनस्तरमा समेत यसलाई चासोका साथ हेरिएको छ ।

अध्यक्ष ओली र दाहालबीच बुधबार द्विपक्षीय भेटवार्ता भएपछि एकता प्रक्रिया र सरकार गठनको तयारीले थप गति लिएको मानिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले सुविधाजनक बहुमतका साथ विजय हासिल गरेपछि पार्टी एकता र नयाँ सरकार गठनलगायतका विषयलाई दुई पार्टीले कसरी अगाडि बढाउलान् भन्ने प्रश्न र आशंका उत्पन्न भइरहेका छन् । तर त्यसलाई जनता र कार्यकर्ताबाट आएको सकारात्मक दबाबका रुपमा नेताहरुले लिएका छन् ।

तपाईको प्रतिक्रिया