Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

डा. अरुणा उप्रेती

२९ माघ । कहिले काहीँ हामीलाई थकाई लाग्छ । सास फेर्न अलि गाह्रो भएजस्तै हुन्छ । सास बढ्छ । यस्तो समस्या बेलाबखत हुनसक्छ, जो सामान्य हो ।

तर, असामान्य त्यसबेला हुन्छ, जब यो समस्या रक्तअल्पताले निम्त्याउँछ ।

रक्तअल्पता भएको सामात्यतः हामीले भेउ पाउँदैनौ । तर, हाम्रो शरीरको सामान्य लक्षणबाटै रक्तअल्पता भए वा नभएको थाहा पाउन सकिन्छ । यसका लागि कस्ता लक्षण देखिन्छन् भन्ने कुरा चाहि बुझ्नुपर्छ ।

रक्तअल्पताले खासगरी महिला अझ गर्भवतीलाई बढी समस्यामा पार्छ । रक्तअल्पताकै कारण गर्भको शिशुलाई असर गर्छ । नतिजा, कम तौलको बच्चा जन्मन्छ । अझ डरलाग्दो त के भने, रक्तअल्पताले गर्दा बच्चा जन्माउन गाह्रो हुन्छ । कुनै बेला यस्तो जटिलता पनि आउन सक्छ, जसले आमा र बच्चा दुबैको मृत्यु पनि हुनसक्छ ।

नेपाली महिलामा रक्तअल्पता

रक्तअल्पता नेपाली महिला, किशोरीहरु र बालबालिकालाई देखिने आम समस्या हो । गर्भवतीमा अझ बढी समस्या देखिने गरेको छ । यसले गर्दा बच्चा रोगी बन्ने, कम तौलको जन्मनेलगायतका समस्या हुन्छ । किनकी गर्भवती आमाको शरीरबाटै भू्रणले पोषण, अक्सिजन लिने गर्छ । अझ अर्को डरलाग्दो कुरा के छ भने रक्तअल्पताकै कारण अत्याधिक गर्भवती महिलाका मृत्यु हुने गरेको छ ।

सुदुरपश्चिमका कतिपय गाउँमा अझै पनि गर्भवती महिलालाई धेरै खाना दिनुहँदैन भन्ने अन्धविश्वास छ । जसले गर्दा उनीहरुलाई हरियो सातपात, फलफूल, मासु, दूध आदि त्यति धेरै दिदैनन् । कस्तो भने केरा खाए बच्चा पाठेघरमा टाँसिन्छ, दूध(दही खाए गाईभैंसीको दूध सुक्छ भन्ने जस्ता अन्धविश्वास छन् । जसले गर्दा गर्भवती महिलामा कुपोषण र रक्तअल्पताको समस्या हुने गर्छ ।

नेपालको स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धानअनुसार कुल मातृमृत्युदरमध्ये १० प्रतिशत आमाको रक्तअल्पताकै कारण मृत्यु हुने गर्छ । रक्तअल्पता भएका महिलाहरुलाई रक्तस्राव हुने सम्भावना अत्याधिक हुन्छ । त्यसैले २० प्रतिशत महिला अप्रत्यक्षरुपमा रक्तअल्पताको कारण मर्ने गर्छन् ।

रक्तअल्पताका लक्षण

रक्तअल्पता भएमा हावाबाट लिएको अक्सिजनलाई रगतले शरीरका अन्य ठाउँमा पुर्‍याउँन सक्दैन ।

थोरै हिँड्दा पनि थकाइ लाग्ने, स्वास्वा हुने, चक्कर लागिरहने, मुटु ढुकढुक गर्ने, अल्छि, वाकवाक लाग्ने, खान दिल नबस्ने जस्ता समस्या हुन्छ ।

रक्तअल्पताको समस्या बढ्दै गएमा अनुहार र छालाको रङ फुस्रो देखिन थाल्छ ।

रक्तअल्पतापछि

रक्तअल्पता भएपछि शरीरको रोगसँग लड्ने क्षमता घटेर जान्छ । रोग लागेपछि खाना कम रुच्छ । जसले कुपोषण बढ्दै जानुका साथै रक्तअल्पताले झन् दुख दिने गर्छ ।

रक्तअल्पताको कारणले गर्भवती महिलामा गर्भपतन हुने, पेटको कम तौल भएको शिशु जन्मने, सम्यअघि नै बच्चा जन्मने, बच्चाको उमेरअनुसार मानसिक विकास नहुने सम्भावना बढी हुन्छ ।

रक्तअल्पताबाट बच्न

रक्तअल्पताबाट बच्नका लागि प्रोटिनयुक्त खानाको प्रयोग गर्नुपर्छ । यसका साथै भिटामिन बी, फोलिक एसिड र आइरनयुक्त खानेकुराको प्रयोगलाई पनि बढाउनुपर्छ । मासु, भटमास, विभिन्न प्रकारका दाल, राजमा, बोडी आदिको सेवन गर्दा रक्तअल्पताको समस्यााबाट टाढा रहन सकिन्छ । यस्ता खानेकुरा फलामको भाडामा पकाएर खाने वानीले शरिरले प्रयाप्त मात्रामा फलाम तत्व प्राप्त गर्छ ।

नेपालीले विभिन्न चाडपर्वमा क्वाँटी, चाकू, घि र शखरखण्ड, जौको सातु, कागतीको सर्बतको प्रयोग गर्छन् । त्यस्तै मासको दालको खिचडी र घिउ खाने प्रचलन छ । चाकु र सखरखण्ड फलाम, प्रोटिन र भिटामिन सीको राम्रो स्रोत हो ।

साग, सिस्नो, गिठ्ठा, भ्याकुर, कोदो, फापर, जौ, गहुँ, चामलको ढुटो, भटमास मकै पोषणका राम्रा श्रोत हुन् । यसको प्रयोगले पनि रक्तअल्पताबाट बच्ने निकै राम्रो उपाय हो ।

कणर्णालीमा फल्ने जुनेलो, कोदो, फापर, आलु र अछाममा फल्ने गहुँ र कोदोको प्रयोग गर्दा कुपोषण र रक्तअल्पता हुनबाट बच्न सकिन्छ ।

जसबाट पाइन्छ फलाम तत्व

लट्टेको सागमा भिटामिन ए र फलाम तत्वको दुवैको मात्रा प्रसस्त हुन्छ । भटमासबाट फोलिक एसिड, आइरत र प्रोटिन प्राप्त गर्न सकिन्छ ।

गर्भवती महिलाहरुलाई फलामतत्वको कमी भएमा फलाम चक्की चक्कीको प्रयोग गर्न सकिन्छ । जुन नेपालका स्वास्थ्यचौकीमा उपलब्ध हुन्छ । तर, यस्तो चक्की खाली पेटमा भने प्रयोग गर्नु हुँदैन । खानामा प्रोटिन र फलामतत्वको मात्रा नबढाई चक्कीले मात्र भने रक्तअल्पताको समस्या समाधान गर्दैन ।

डा. उप्रेती जनस्वास्थ्य विज्ञ हुन्

तपाईको प्रतिक्रिया