Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

काठमाडौं, २९ माघ । चालू आर्थिक वर्ष २०७५र७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ। विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये सबभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन्।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए।

‘रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो’, उनले भने।

सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० शैय्याको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ। कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट भगतलाल श्रेष्ठले जानकारी दिए।

हाल देशभर झण्डै २१ हजार कैदी छन्। करिब तीन हजार कैदी केन्द्रीय कारागारमा छन्। कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ।

आव २०७४र७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीको सो अस्पतालमा उपचार गरिएको थियो। मुलुकभर हाल ७२ जिल्लामा ७४ कारागार छन्। चौबीसै घण्टा कैदीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक देशभरका बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्दै आएको छ।

रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments