Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

काठमाडौं, १२ मंसिर २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रणालीलाई पूर्णरूपमा पुनःस्थापना गर्न तेस्रो विश्वका देशहरूबाट आप्रवासनलाई स्थायी रूपमा रोक्नु एकमात्र उपाय भएको बताएका छन् ।

बुधबार नेसनल गार्ड सदस्यहरूमाथि भएको गोलीकाण्डका आरोपी अफगानी नागरिकको पहिचान भएपछि ट्रम्पले आफ्नो कडा आप्रवासन नियन्त्रणलाई अझ तीव्र पार्ने बताएको एक्जिओस अनलाइनले उल्लेख गरेको छ ।

ट्रम्पका अनुसार उक्त आक्रमणमा घाइते २० वर्षीय सिपाही सारा बेकस्ट्रोमको बिहीबार चोटका कारण मृत्यु भएको थियो । वेस्ट भर्जिनिया नेसनल गार्डका अर्का घाइते २४ वर्षीय एयर फोर्स स्टाफ सार्जन्ट एन्ड्रयू वुल्फ गम्भीर घाइते छन् ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले बुधबार रातिबाट तत्काल लागु हुने गरी अफगानी नागरिकहरूको सबै आप्रवासन आवेदनहरू स्थगित गरेको थियो ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले बिहीबार ट्रम्पले १९ देशका ग्रीन कार्ड पाएकाहरूको पुनः जाँच गर्न आदेश दिएको बताएको छ ।

आप्रवासीहरूको विरुद्धमा ट्रम्पले ‘ट्रुथ सोसल’मा गरेको पोस्टमा, पूर्वराष्ट्रपति बाइडेनलाई लाखौँ अवैध प्रवेशको लागि जिम्मेवार ठहर गर्दै उनले अमेरिकाको लागि ‘नेट एसेट’ नभएकालाई हटाइने बताए ।

“अबको काम हाम्रो देशका गैरनागरिकहरूलाई सबै संघीय सुविधाहरू र अनुदानहरू अन्त्य गर्नुहुनेछ । आन्तरिक शान्तिलाई कमजोर पार्ने आप्रवासीहरूको नागरिकता खारेज गर्नुहुनेछ,” उनले लेखेका छन्, “जो कोही सार्वजनिक भार, सुरक्षा जोखिम वा पश्चिमी सभ्यतासँग नमिल्ने विदेशी नागरिकलाई निष्कासित गर्नुहुनेछ ।”

कुन–कुन देशहरूलाई लक्षित गरिनेछ वा ट्रम्पले यो प्रतिबन्ध कसरी लागु गर्ने प्रयास गर्नेछन् भन्ने विषय भने स्पष्ट छैन ।

यसअघि वासिंगटन डीसी घटनापछि ट्रम्प प्रशासनले अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा ९म्यानमार०, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सिएरा लियोन, तुर्कमेनिस्तान, टोगो गरी १९ वटा देशबाट अमेरिका आएका व्यक्तिहरूलाई जारी गरिएका ग्रीन कार्डको पुनरावलोकन गर्ने बताएको छ ।

 

 

तपाईको प्रतिक्रिया