Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

वीरगञ्ज, २९ माघ । पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष छ । तर, त्यहाँ शल्यक्रिया हुँदैन । शल्यक्रिया कक्षको च्यानल गेटमा ताल्चा लगाएर राखिएको छ । शल्यक्रिया कक्ष काम नलाग्ने अवस्थामा पुगेर त्यसको प्रयोग नभएको भने होइन ।

पोखरिया अस्पतालको भवन नयाँ छ । तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र पोखरिया रहेको स्थानमा दुई करोड ५० लाख ८८ हजारको लागतमा भवन निर्माण गरी ०६९ साल पुसमा अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो ।

अस्पतालको भवन निर्माण भएको ६ वर्ष बितिसक्दा समेत अस्पतालको शल्यक्रिया कक्ष सञ्चालनमा आउन सकेको छैन । इर्मजेन्सीमा जटिल अवस्थाका विरामी आएको खण्डमा रिफर गरिन्छ, नर्मल हुने अवस्थामा अस्पतालमै डेलिभरी गराइन्छ । थोरै क्रिटिकल वा सिजर गर्नुपर्ने अवस्था आए वीरगञ्ज लगायतका ठाउँमा पठाइन्छ ।

अस्पतालमा सर्जन डाक्टर नभएका कारण शल्यक्रिया विभाग सञ्चालनमा आउन नसकेको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अनिल यादव बताउँछन् । ‘साउनदेखि असोजसम्म ४ महिनामा अस्पतालमा ६ सय जना महिलाको नर्मल डेलिभरी भयो । सिजर्स गर्नुपर्ने विरामी पनि आउँछन् । तर, अपरेशन थिएटर सञ्चालनमा ल्याउन नसक्दा हप्तामा कम्तिमा १० वटा डेलिभरी केस नै रिफर गर्नु परिरहेको छ’ यादवले भने ‘यो हाम्रो रहर होइन बाध्यता हो, रिक्स लिँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ । सर्जन, गाईनोक्लोजिष्ट कोही पनि हुनुहुन्न ।’

भौतिक संरचना राम्रो भए पनि स्थानीय सरकार गठन भएको दुई वर्ष बित्न लागिसक्दा पनि अस्पतालको अवस्थामा खासै सुधार आउन सकेको छैन । अस्पतालको एक्स रे मेशिन बिग्रिएको एक महिनापछि केही दिन अघिमात्रै सञ्चालनमा आएको थियो । हुन त पोखरिया नगरपालिकाले अस्पताललाई ५० शैयाको बनाउन पहल गरेको छ । स्तरीय सेवा विना शैया मात्रै थप्दा उपलब्धीमुलक हुनेमा स्थानीयले शंका व्यक्त गरेका छन् ।

पोखरिया अस्पतालबाट प्रभावकारी सेवना नपाउँदा पर्साको ग्रामीण क्षेत्रका बासिन्दा उपचारका लागि वीरगञ्ज वा सीमावर्ती भारतीय सहरतिर धाउन बाध्य छन् । पर्सा जिल्लाको मध्य भागमा पर्ने पोखरिया नगरपालिकालाई जिल्लाको दोस्रो सदरमुकाम भनिन्छ ।

सर्जन डाक्टर नहुँदा सुत्केरीका लागि प्रसुति विभागमा आउने महिलाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखियो भने बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको यादवको भनाइ छ ।

अस्पतालमा नवौं अथवा दशौं तहका एकजना विशेषज्ञ चिकित्सकको दरवन्दी भए पनि खटाइएको छैन । अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरु पनि दरबन्दी अनुसारको नरहेको अस्पतालले जनाएको छ ।

१५ बेडको पोखरीया अस्पतालको ओपीडिमा दैनिक १ सय जना जति बिरामीहरु आउने गरेका छन् । कहिलेकाहीँ बिरामीको संख्या दुई सयसम्म पुग्ने गरेको छ । यो अस्पतालमा पोखरीया नगरपालिकाका साथै पर्साको ग्रामीण भेगका २० वटा गाउँका बिरामीले उपचार सेवा लिन्छन् ।

दरबन्दी अनुसार कर्मचारी नै छैनन् ।

पोखरिया अस्पतालको दरबन्दी चार्टमामा नावौं वा दशौं तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी देखिन्छ । तर लामो समयदेखि त्यो पद रिक्त छ । ग्रामीण क्षेत्रमा रहेका सरकारी अस्पतालमा दशौं तहका चिकित्सक जान खासै नरुचाउने गरेको पाइएको छ । शहरमा बस्दा सरकारी कामसँगै निजी क्लिनिक र अस्पतालमा सेवा दिएर बढी कमाउन सक्ने अवस्था हुन्छ ।

पोखरिया अस्पताल अहिले एमबीबीएस गरेका मेडिकल अधिकृतहरुकै भरमा सञ्चालमा छ । अस्पतालमा तीन जना छात्रवृत्ति करारसहित ६ जना डाक्टर कार्यरत छन् । उनीहरुमध्ये २ जना स्थायी हुन भने एकजनालाई मन्त्रालयले पठाएको छ । अस्पतालमा मेडिकल अधिकृत आठौं तहका लागि दुई वटा मात्रै दरबन्दी छ ।

नर्सिङतर्फ सातौं वा आठौं तहका नर्सिङ अधिकृत १ जना, स्टाफ नर्स ६ जना र अनमी ३ जनाको दरबन्दी छ । तर अस्पतालमा नर्सिङ अधिकृत खाली छ भने ५ जना मात्रै स्टाफ नर्स कार्यरत छन् ।

दरबन्दी भए पनि अस्पतालमा डार्क रुम असिस्टेन्ट पठाइएको छैन । प्रशासनिक कर्मचारी नभएका कारण बेग्लै समस्या छ । ‘आर्थिक प्रशासनमा दरबन्दी नै छैन । नगरपालिकासँग सहयोग लिएर काम गरिरहेका छौं ।’ निमित्त मेसु डा. यादवले भने ।

तपाईको प्रतिक्रिया