Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २८ माघ । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी बढेको छ । बढ्दो जनसंख्या, अव्यवस्थित पार्किङ र चोरी निगरानीका लागि प्रविधिको प्रयोग नहुँदा चोरी बढेको प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो एकहप्ताभित्र उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका १९ वटा मोटरसाइकल फेला पारेको छ । महाशाखाले फेला पारेका उक्त मोटरसाइकलहरु सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

चोरी भएका अधिकांश मोटरसाइकल काठमाडौंका छिमेकी जिल्लामा फेला पर्ने गरेको महाशाखाले जनाएको छ । ग्रामीण सडक र ट्राफिक प्रहरीको निगरानी कम हुने भएकाले चोरीका मोटरसाइकल ती जिल्लाहरुमा सञ्चालन हुने गरेका हुन् ।
प्रहरीका अनुसार उपत्यकाबाट चोरी भएका अधिकांश मोटरसाइकल रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र धादिङमा फेला पर्ने गरेका छन् ।

“मोटरसाइकल पार्किङस्थल आफैंमा सुरक्षित छ कि छैन भन्नेमा व्यक्ति सचेत नबन्दा धेरै मोटरसाइकल उपत्यकाबाट चोरी हुने गरेको पाइन्छ,” महाशाखा प्रमुख, एसएसपी वसन्त पन्त भन्छन्, “उपत्यकाबाट चोरी भएका मोटरसाइकलमध्ये सबैभन्दा धेरै काठमाडौंका छिमेकी जिल्लामा चलाएको अवस्थामा भेटिएका छन् ।”

चालु आर्थिक वर्षमा ६४७ मोटरसाइकल चोरी भएको महाशाखा स्रोतले बताएको छ ।

हराएका ६४७ वटै मोटरसाइकल धनीले खोजीका लागि महाशाखामा निवेदन दिएका छन् । चोरी भएकामध्ये ४२ मोटरसाइकल अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि भन्सार पठाइएको छ ।
२३३ मोटरसाइकललाई पक्राउ गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको एसएसपी पन्तले बताए ।

फेला परेका मोटरसाइकलमा फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नम्बरको २२० सिसिको पल्सर, पिटर तामाङको प्र ३–०२–००१ प ९९७० नम्बरको पल्सर प्रहरीले छिमेकी जिल्लामा फेला पारेको हो । स्वयम्भुबाट हराएको शङ्कलाल तामाङको १५० सिसिको मोटरसाइकल प्रहरीले फेला पारेको हो ।

यी मोटरसाइकल सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको प्रमुख पन्तले जानकारी दिए । फेला पारेका मोटरसाइकल सम्बन्धित धनी लिन नआउँदा यस्ता मोटरसाइकल पार्किङका लागि समस्या भएको महाशाखा बताउँछ ।

चोरी भएका मोटरसाइकल धनीले बीमा कम्पनीबाट रकम बुझ्ने हुँदा फेला परेका मोटरसाइकल महाशाखा परिसरमा थन्किएका छन् । फेला पारेर वर्षौं थन्किएका मोटरसाइकलको वार्षिक राजस्व तिर्न धनीले नसक्दा मोटरसाइकल महाशाखा परिसरमै थन्किएका हुन् ।
फेला परेका मोटरसाइकलमध्ये अधिकांश पल्सर, अपाची र बुलेट रहेका छन् ।

नयाँ मोटरसाइकल चोरेर पुरानामा इन्जिन र चेसिस फिट गरेर चलाउने गर्ने भेटिएकाले यस्ता मोटरसाइकल जाँच ट्राफिक प्रहरीले तीव्र पारेको एसएसपी पन्तले बताए ।
मोटरसाइकल हराएमा वा चोरी भएमा १०३ मा फोन गरेर रिपोर्ट गर्न प्रहरीको अनुरोध छ ।

तपाईको प्रतिक्रिया