Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

तराई, २८ मघ । मधेश कार्यक्रममा प्रदेश सरकारलाई झड्का, खानेपानी आयोजनाको सुरुवातमै अनियमितता

विराटनगर र प्रदेश १ सरकारको तराई–मधेश कार्यक्रम अन्तर्गत मोरङको जाँहदा गाउँपालिका –३ भातिगछमा निर्माण सुरु भएको बृहद खानेपानी आयोजनाको सुरुवातमै अनियमितता हुन थालेको छ ।

लगाएको दुई दिन पनि वित्न नपाउँदै बन्डी वाल लडेपछि अनियमितता पुष्टि भएको हो । अनियमितता गर्ने उदेश्यले कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण वाल लडेको स्थानीयको भनाइ छ । ईन्द्रानन्द रायको अध्यक्षतामा बनेको सात सदस्यीय उपभोक्ता समितिले ठेक्का लगाएर खानेपानी आयोजना निर्माणको कामलाई अघि बढाएको छ । तर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर ४ झापाको मातहतमा सुरु भएको आयोजनामा गुणस्तरहीन निर्माण सामग्रीकै कारण वाल लगाउन नपाउँदै लडेको हो ।

आयोजना निर्माण गर्न जग उठाउन लागाइएको वालमा स्थानीय खोलाको लेदो मिसिएको बालुवा र सस्तो मूल्यको पिकेट इँटाको प्रयोग गरिएको स्थानीय भागवत राजवंशीले बताए । श्री लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका उनले वन क्षेत्रमा आयोजना निर्माण सुरु भए पनि कामले गुणस्तरियता प्राप्त गर्न नसकेको जनाए । उक्त क्षेत्रमा स्थानीयले १८ कठ्ठा ऐलानी जग्गामा जिल्ला वन कार्यालयको सहयोगमा वृक्षरोपण गरेका थिए ।

तीन वर्ष भित्रमा करिव आठ करोड लागतमा खानेपानी आयोजनाको काम सम्पन्न गर्ने योजना छ । चालु आर्थिक वर्षमा १४ लाख २५ हजार आयोजनाको कामका लागि निकासा भइसकेको छ । करिव ६ कट्ठा क्षेत्रफलमा आयोजनाका लागि आवश्यक पर्ने एक सय ६३ मिटर लामो वाल लगाउने काम सुरु भएको थियो ।
वन अध्यक्ष राजवंशीले स्थानीय बासिन्दाले गुणस्तरिय काम गर्नु पर्छ भनेर आवाज उठाउँदा

वडा अध्यक्ष अनिल ठाकुर लगायतका जनप्रतिनिधि आयोजना निर्माणमा भएको अनियमितताको ढाकछोप गर्न लागि परेको बताए । उनले खानेपानी आयोजना निर्माणले स्थानीयमा ल्याएको हर्षलाई सुरुवातमै भएको अनियमितताले दुःखमा परिणत गरिदिएको बताए । आयोजनाले हालसम्म कामका बारेमा कुनै पनि जानकारी सूचना बोर्डमा राखेर सार्वजनिक गरेको छैन ।

स्थानीय कामदारलाई आयोजना निर्माण गर्न दिंदा कमसल सामग्रीका बारेमा कुरा उठाउने भएपछि ठेकेदारले कामदार समेत बाहिरका ल्याएर प्रयोग गरिरहेको स्थानीय देवराज राजवंशीले बताए । उनले आयोजना निर्माण गर्न ओपीसी सिमेन्ट प्रयोग गर्नु पर्ने सम्झौता भएको भए पनि पीपीसी सिमेन्ट प्रयोग गरिएको जानकारी दिए । ओपीसी भन्दा पीपीसी सिमेन्टको मूल्य कम पर्छ । ‘पीपीसीले ओपीसी जति प्रभावकारी काम गर्दैन,’ देवराजले भने, ‘ओपीसी प्रयोग गर्नु पर्ने प्रष्ट सम्झौता हुँदा हुँदै पीपीसी सिमेन्ट प्रयोग गरेर अनियमितता गरिएको छ ।’

आयोजनाको काम गरिरहेका कामदाहरुले पनि वालमा प्रयोग गर्नु पर्ने बालुवा, इँटा र सिमेन्ट उपयुक्त नभएको बताए । ‘यस्ता धेरै आयोजनाका काम मैले गरें,’ एक मिस्त्रीले भने, ‘यति गुणस्तरहिन बालुवा प्रयोग गरेको पहिलो पटक देखें ।’ उनले जमिनबाट माथि वाल लगाउन पिकेट इँटा प्रयोग गर्न नमिल्ने भए पनि ठेकेदारले सस्तो पर्ने भएपछि पिकेट इँटानै प्रयोग गर्न आफूहरुलाई लगाएको सुनाए । पिकेट इँटा, कमसल बालुवा र जोडाईमा प्रयोग गरिएको सिमेन्ट सही नभएका कारण बनाएको दुई दिन पनि वित्न नपाउँदै आयोजनाको वाल लडेको कामदारको भनाइ छ । उनका अनुसार चालेको र लेदो नमिसिएको राम्रो बालुवा वाल जोडाईमा प्रयोग गर्नु पर्छ ।

आयोजनाका इन्जिनीयर ज्योतिषकुमार मिश्रका अनुसार जमिन मुनी दुई फिट १५ इन्चको वाल लगाउनु पर्ने सम्झौता रहेको बताए । उक्त वाल सम्झौता अनुसार छ कि छैन भन्ने बारेमा आफूले अध्ययन गर्न नभ्याएको उनले बताए । मिश्रका अनुसार जमिन मुनी पिकेट इँटा प्रयोग गर्नेर जमिनमाथिको पाँच फिट वाल उठाउँदा नम्बरी इँटा प्रयोग गर्नु पर्ने सम्झौता छ । तर ठेकेदारले भने जमिनमाथिको वालमा पनि पिकेट इँटा नै प्रयोग गरिररहेको पाइएको हो ।

वडा अध्यक्ष ठाकुरले आयोजनाको काममा अनियमितता नगर्ने हिसावमा काम सस्तो खर्चमा सक्नका लागि आफूले सहजीकरण मात्रै गरिदिएको बताए । ‘गाउँमा बृहद खानेपानी आयोजना निर्माण भइरहेको छ । यो आयोजनाका कारण सबै खुसी हुनु पर्ने हो,’ उनले भने, ‘तर अनआश्यक रुपमा विरोध गर्नेहरु बढी भए । यसमा वडाले सहजीकरण मात्रै गरिदिने भएका कारण अनियमितता भएमा वडा कार्यालयलाई दोष लगाउन मिल्दैन ।’

ठेकेदार तिलक मास्के आयोजनामा कुनै पनि अनियमितता नभएको दावी गर्छन । धेरै समयपछि परेको वर्षाका कारण वाल लड्न पुगेको उनको दावी छ । मास्केले उपभोक्ता समितिमार्फत वडा कार्यालयको निगरानीमा काम सुरु भएकाले यसमा अनियमितता हुन सक्ने र गर्न सकिने सम्भावना नरहने दावी गरे । ‘हामीलाई कस्तो काम गर्नु भनेको छ त्यही गर्ने हो,’ उनले भने, ‘स्टिमेट अनुसार नै काम भइरहेकाले यसलाई गुणस्तरहीन भन्न मिल्दैन ।’ उनले लडेका ठाउँमा पुनः वाल उठाएर आयोजनाको काम सुरु गरिने बताए ।

पूर्वेलीन्यूजबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments