Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अमृत सुवेदी

पोखरा, २७ माघ । पोखराका केही चोकमा ०५८ सालतिर ट्राफिक लाइटहरु थिए । सभागृह, सिर्जनाचोक, महेन्द्रपुल, चिप्लेढुंगा चोकमा ट्राफिक लाइट जोडियो । तत्कालीन पोखरा उपमहानगरसँग पार्किङ ठेक्का लिएको पिक्याप नामको संस्थाले यी चोकमा ट्राफिक लाइट राखेको थियो ।

ठेक्का पाएको पिक्याप र नगरपालिकाबीच लामो समय सम्बन्ध रहेन । नगरपालिकाले त्यसको व्यवस्थापनको जिम्मा लिएन र राम्रोसँग प्रयोगमा नै नआई ट्राफिक लाइट अलपत्र परे । ती लाइट भएका पोलहरु पछि लोकतान्त्रिक आन्दोलनताका भाँचिए । अहिले पोखरामा ट्राफिक लाइट एकादेशको कथा बनिसकेको छ ।

२० वर्षयता पोखरामा ट्राफिक जडान गर्ने पिक्यापमात्रै होइन, उद्योग वाणिज्य संघका चुनावताका पनि नारा बने, सांसदले भाषण ठोके । त्यतिमात्र नभएर पोखरामा ट्राफिक लाइट जडान गर्ने भनेर युवाले देउसी-भैलो पनि खेले । तर, कतैबाट ट्राफिक लाइट जडानको प्रक्रिया अगाडि बढेन ।

ऊ बेला नै लाइटको आवश्यकता देखेर जडान गरिए पनि महानगरपालिकाले व्यवस्थापन गर्न र अरु ट्राफिक लाइट पनि थप्न सकेन । उपमहानगरपालिका हुँदै महानगर बनेको पोखराको प्रत्येक बजेट भाषणले ट्राफिक व्यवस्थापनका लागि लाइट राख्ने बताइयो । तर, काम भएन । ट्राफिक लाइट आवश्यकता देखेर जडान गरिएको त्यो बेलाभन्दा अहिले पोखरामा सवारी साधनको चाप तेब्बर नै भइसकेको छ ।

गण्डकी यातायात व्यवस्था कार्यालयमा मंसिरसम्म मात्र १ लाख ९२ हजार ५ सय ६३ सवारी साधन दर्ता भएका छन् । त्यसमा १ लाख ४७ हजार त मोटरसाइकल मात्रै रहेको कार्यालय प्रमुख अच्यूत रेग्मी बताउँछन् ।

पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग जोडिएको पोखरामा ठूला गाडीलाई मुख्य चोकसम्म नआई सुखै छैन । किनकि यहाँ एक राजमार्गबाट अर्को राजमार्ग जाने वा मुख्य चोक नपुगी गन्तव्यसम्म जाने कुनै वैकल्पिक मार्ग छैन । जसले गर्दा ठूला-साना सबैखाले गाडीले पोखराका मुख्य चोक पुग्नै पर्दा चाप अझ बढी थपिन्छ ।
पोखराको प्रत्येक बजेट भाषण र हाकिम फेरिएसँगै जोडिने ट्राफिक लाइट जडानको विषय अहिले फेरि अगाडि बढेको छ । सडक डिभिजन कार्यालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखराका १० ठाउँमा ट्राफिक लाइट राख्न सर्भे सुरु भएको छ

ट्राफिक लाइट नहुँदा प्रहरीको हातको इसारा हेर्दै सिठीको आवाज सुनेर सडक पार गर्नु उत्तिकै जोखिम र चुनौतीपूर्ण छ । जसका कारण मुख्य चोकमा सकसपूर्ण जाम त छँदैछ, दुर्घटना बढिरहेका पनि छन् । सवारी साधनबाट आउजाउ गर्नेलाई त जोखिम छँदैछ, त्योभन्दा बढी जोखिम पैदल यात्रुले खेप्नुपरेको दिवस गुरुङ बताउँछन् ।

अहिले गण्डकी प्रदेशको राजधानी शहर पोखरा आफैं ट्राफिक जाममा परेको आभास हुने सांसद पियारी थापा बताउँछिन् । उनी मुख्य चोकमा हुने ट्राफिक जाम र व्यवस्थापन नभएकै कारण टयाक्सी चढेर जाँदा संसद ढिलो पुगेकोसमेत अनुभव सुनाउँछिन् ।

ट्राफिक लाइट राख्ने र यातायात व्यवस्थापन गर्ने भन्ने कुरा सुन्दासुन्दा यो एकादेशको कथा बनिसकेको स्थानीय हरि भुजेलले बताए । मुख्यचोकमा ट्राफिक लाइट नहुनु र भएका ट्राफिक पनि जाम घटाउनतिर भन्दा कसले नियम मिच्छ र जरिवाना गर्न पाइन्छ भन्नेतिर लाग्दा धेरै दुःख पाएको स्थानीय भेषराज पौडेल अनुभव साट्छन् ।

सवारी साधनको चाप बढेसँगै यसको व्यवस्थापनमा ट्राफिक लाइट अहिले आएर नभैनहुने विकल्प बनेको यात्रु दिनेश आचार्यले महसुस गरेका छन् । कार्यालय समयमा त झन् जाम हुने समस्या अत्याधिक खेप्नुपरेको गुनासो आचार्यको छ । पोखराको ट्राफिक अस्तव्यस्त हुनुमा थुप्रै कारण छन् । साँघुरा सडक, सडकमै गरिने पार्किङ, वैकल्पिक मार्ग नहुनु, अप्रयाप्त ट्राफिक प्रहरी लगायत यहाँको ट्राफिक अव्यवस्थाको जड हो ।

त्यसमा पनि अर्को महत्वपूर्ण कुरा ट्राफिक लाइट पनि हो । तर, ट्राफिक लाइट नहुँदा सीमित प्रहरीको सहायताले बृहद बन्दै गइरहेको पोखरालाई कसरी धानिरहेको छ ? सरोकारवालाको प्रश्न छ । अब पनि बेलैमा नसोच्ने हो भने पोखराका लागि यो घातक बन्ने सरोकारवालाको चिन्ता छ ।

कास्की जिल्लाको सिंगो ट्राफिक व्यवस्थापन हेर्ने प्रहरीको दरबन्दी जम्मा २८ जनाको छ । तानतुन गरी ७५ जनाको हाराहारी ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले जानकारी दिए । ‘ट्राफिक लाइट छैन, अन्य सवारीको चाप घटाउने उपाय छैन । सीमित ट्राफिक प्रहरीबाट काम चलाउनुपरेको अवस्था छ,’ मिश्रले भने, ‘ट्राफिक प्रहरीका दुःखको कुरै नगर्नुस् ।’

१० चोकमा ट्राफिक लाइट राख्न सर्भे

पोखराको प्रत्येक बजेट भाषण र हाकिम फेरिएसँगै जोडिने ट्राफिक लाइट जडानको विषय अहिले फेरि अगाडि बढेको छ । सडक डिभिजन कार्यालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखराका १० ठाउँमा ट्राफिक लाइट राख्न सर्भे सुरु भएको छ ।

सडक डिभिजन कार्यालयले, अमरसिंह, पृथ्वीचोक, जिरो किलोमिटर, बिरौटा चोक र सिर्जना चोकमा २४ सै घन्टा ट्राफिक लाइट चलाउने गरी सर्भे गरिरहेको छ । मुख्य चोकमा क्यामरा जडान गरी सर्भेको काम भइरहेको सडक डिभिजन प्रमुख हरिकुमार पोखरेलले जानकारी दिए । सडक डिभिजन कार्यालयबाट सर्भे गरिरहेको टोलीलाई पोखरा महानगरपालिकाले पनि समन्वय गरी सर्भेको काम अगाडि बढाइरहेको हो । मुख्य राजमार्गसँग जोडिएका चोकमा सडक डिभिजन र अरु चोकमा पोखरा महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने योजना छ ।

महानगरपालिकाले चिप्लेढुंगा चोक, महेन्द्रपुल, सभागृह चोक, राष्ट्रबैंक चोक र हलनचोकमा ट्राफिक लाइट जडान गर्ने योजनासहित सर्भे अगाडि बढाएको मेयर मानबहादुर जिसीले जानकारी दिए । पोखरा महानगरले विभिन्न यस्ता पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको इन्जिनियर सोभियत खड्काले बताए । सर्भेपछि डीपीआरसहित रिपोर्ट आउने र त्यसपछि ट्राफिक लाइट जडानको काम अघि बढ्ने मेयर जीसीको भनाइ छ ।

तपाईको प्रतिक्रिया