Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, २७ माघ । संघीय संसद्का पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा जहाज भाडाका अतिरिक्त खर्च गरेको इन्धनको परिमाण पत्याउनै मुस्किल पर्छ । उनीहरूले व्यक्तिगत काममा जाँदासमेत इन्धन सुविधा दाबी गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कात्तिक १९ देखि २६ सम्म गृहजिल्ला रोल्पा जाँदा ७ सय ६२ लिटर पेट्रोल खपत भएको भन्दै संसद् सचिवालयबाट ८३ हजार ४ सय ६५ रुपैयाँ खर्च लिएका छन् । यसबाहेक हवाई जहाज टिकटबापत १८ हजार ७ सय ५० रुपैयाँ बुझेका छन् ।

कात्तिक ३० र ३१ मा तनहुँ जाँदा पनि ३ सय ४३ लिटरबापत ३७ हजार ६ सय ३ रुपैयाँ र जहाज खर्च ६ हजार ७ सय ५० रुपैयाँ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पुस ६ मा पोखरा जाँदा जहाज भाडा ७ हजार ५ सय र इन्धनको ५ हजार ५० रुपैयाँ लिएका छन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले कात्तिक ९ देखि १५ सम्म गृहजिल्ला मोरङ जाँदा १ सय ७२ लिटर पेट्रोलको खर्च लिएकी छन् । जहाज खर्च ७ हजार ८ सय पनि बुझेकी छन् । उपाध्यक्ष शशिकला दाहालले असोज १४ देखि १९ सम्म गृहजिल्ला महोत्तरी जाँदा ११ हजार ६ सय रुपैयाँ इन्धन खर्च लिएकी छन् ।

संसद्सँग सम्बन्ध नै नभएका व्यक्तिगत, राजनीतिक र धार्मिक कार्यक्रम, अवलोकन र उद्घाटनमा जाँदासमेत पदाधिकारीले नियमविपरीत तेल खर्च बुझेका हुन् । सूचनाको हकबाट प्राप्त विवरणअनुसार सभामुख महराले पछिल्लो सात महिनामा कानुनले तोकेबाहेक ३ लाख ५८ हजार १६ रुपैयाँ इन्धन खर्च लगेका छन् । प्रतिलिटर १ सय १० का दरले हिसाब गर्दा यो अवधिमा उनले ३ हजार २ सय ५४ लिटर पेट्रोल खर्चिएका छन् । कानुनअनुसार मासिक पाउने २ सय ५० लिटर यो विवरणमा समावेश छैन ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पदाधिकारीले कानुनअनुसार नै इन्धन सुविधा लिएको हुन सक्ने बताए । ‘उहाँहरूले महिनामा कति इन्धन पाउने भन्ने कानुनमै तोकिएको छ । त्यहीअनुसार नै सुविधा र इन्धन खर्च लिनुभएको होला,’ उनले भने, ‘तोकिएभन्दा बढी लिदाचाहिँ नियमभन्दा बाहिरको खर्च हुन्छ ।’

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया