Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २४ माघ । सिन्धुली, तनहुँ र चितवनमा गएराति भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिन्धुली र तनहुँमा दुई-दुई जना र चितवनमा एक जनाको मृत्यु भएको हो ।

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १३ जना गम्भीर घाइते छन् ।

मृत्यु हुनेमा काभ्रेको तेमाल गाउँपालिका-९ का २२ वर्षीया कृष्णमाया माझी र सोही ठाउँका १६ वर्षीय चुनपाई लामा रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रामेछापको खाँडादेवी गाउँपालिका-१ कठोरेबाट काभ्रेको तेमालतर्फ फर्किँदै गरेका जन्ती सवार टिपर सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटस्थित वीपी राजमार्गमा अनियन्त्रित भई सडक छेउँमा पल्टिएको थियो ।

बेहुला-बेहुली अर्को गाडीमा रहेकाले उनीहरु सकुशल रहेको सिन्धुली प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई काठमाडौंको ट्रमा सेन्टर, धुलीखेल अस्पताल लगायतका ठाउँमा उपचार भइरहेको छ

प्रहरीले टिपर चालक रामेछापको खाँडादेवी गाउँपालिका-१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

तनहुँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

यसैगरी तनहुँको बन्दीपुर गाउँपालिका-५ स्थित झारगाउँमा ग २ च ३२७० नम्बरको जीप गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका-५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ छन् ।

उनीहरुको उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका-६ जालभञ्ज्याङतर्फ जाँदै गरेको उक्त जीप कच्ची सडकबाट ५० मिटर तल खसेको थियो ।

कुरिनघाटमा बसको ठक्करबाट एक जनाको मृत्यु

यसैबीच चितवनको इच्छाकामना गाउँपालिका-३ कुरिनघाटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको ग ३ ख ३२६९ नम्बरको बसले लु ५ प ६८५६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।

मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीका अनुसार थापाको ठेगाना इच्छाकामना गाउँपालिका-४ लेवाटार हो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया