Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २४ माघ । काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भइरहेको छ । दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा भने हिमपात भएको छ । ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ । यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ पर्ने र वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पर्नेछ । काठमाडौंलगायत देशका पूर्वीभेगमा भने शनिबारसम्मै यसको प्रभावले वर्षा भइरहने मौसमविद् पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘पश्चिम भागमा शुक्रबारसम्म पानी पर्ने र रोकिने क्रम चले पनि काठमाडौंसहित पूर्वी भेगमा शनिबारसम्म नै यसको असरले वर्षा भइरहने छ’, मौसमविद् पौडेलले भने ।

सुदूर पश्चिमका जिल्ला दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

सतर्क रहन र ट्रेकिङ नजान सुझाव

पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा मौसमपूर्वानुमान महाशाखाले औंल्याएको छ । त्यसैले मौसमविदले केही दिन ट्रेकिङ नजान सुझाव दिएका छन् । मौसमविद मञ्जु बासीले भनिन्, ‘हिम पहिरो जाने, चिसो पनि बढ्ने भएकाले ट्रेकिङ्ग जानेहरुका लागि झन् गाह्रो हुन्छ, त्यसैले केही दिन नगएकै राम्रो ।’

तपाईको प्रतिक्रिया