Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए । उनले भने, ‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो त्यसपछि आर्थिक वर्ष २०७३/७४मा घटाएर २२.९ मा झार्‍यौं, आर्थिक वर्ष ०७४/७५ मा २०.४५मा रहेको चुहावटलाई घटाएर चालु आर्थिक वर्षको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौं ।’

करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्ने प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

चालु आर्थिक वर्षमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

तपाईको प्रतिक्रिया