Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

रविन्द्र घिमिरे

काठमाडौं, २३ माघ । सरकारले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा यात्रुको समान जाँचमा निकै कडाइ गरेको छ । तोकिएको भन्दा बढी परिमाणमा समान ल्याए जफत गरेर राखिदिने काम भइरहेको छ । विमानस्थल भन्सारका हाकिम यो क्रम अझै जारी रहेको बताउँछन् ।

राजस्वको लक्ष्य भेट्न मुस्किल भएपछि सरकारले विमानस्थलमा आउने यात्रुलाई तोकिएको भन्दा बढी समान ल्याउन दिन निषेध गरेको सरकारी अधिकारीहरु बताउँछन् ।

तर, विदेशबाट आउने नेपाली यात्रुहरुले सरकारको यो कदमलाई चित्त बुझाएका छैनन् । विशेष गरी विदेशमा काम गरेर फर्किएका नेपालीले दुःख गरेर घरपरिवारका लागि केही ल्याउन खोज्दा सरकारले छापामार शैलीमा ‘लूट’ मच्चाएको उनीहरुको गुनासो छ ।

यसअघि खुकुलो रहेको भन्सार जाँचमा कडाइ भएपछि अहिले धेरै यात्रुले विमानस्थलमा सास्ती भोगेका छन् । यिनै विषयमा केन्दि्रत रहेर हामीले विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुरसँग केही प्रश्नहरु सोध्यौं ।

राजस्व बढाउनकै लागि भनेर जनवरी १ देखि विमानस्थल भन्सारमा विदेशबाट फर्किने यात्रुले ल्याउने झिटीगुन्टाका सामानमा कडा चेकजाँच सुरु भयो । यसको परिणाम के कस्तो देखिँदैछ ?

पहिले तोकिएभन्दा बढी धेरै मात्रामा समान आउँथे । अहिले त्यो विस्तारै कम हुँदै गएको छ । यात्रु सचेत भएका छन्, उहाँहरुले सहयोग गर्नुभएको छ ।

पहिलो दिनमै सयौं बढी रक्सीका बोतल आउँथे । हामीले कडाइ गरेपछि अहिले दैनिक कहिले ७-५ बोतल त किहले १०-१२ बोतल मात्रै जफत हुन्छ । विस्तारै तोकिएभन्दा बढी सामान ल्याउने क्रम घट्दै गएको छ । केहीले थाहा नपाएर ल्याउनुभएको हुन्छ भने कतिले थाहा पाई-पाई पनि ल्याउनुहुन्छ ।

जे होस् कानुनले तोकेको परिणामभन्दा बढी ल्याउनेबाट हामीले जफत गर्ने क्रम जारी छ । तर, अब पहिलो जस्तो छैन, सामान्य अवस्थामा आइसक्यो ।

झिटीगुन्टा आदेशमा तपाईंहरुले अहिले आएर कडाइ गर्नुभयो । तर, यसबारे पर्याप्त जानकारी दिने गरी काम गर्नुभएन । हजारौं रकम तिरेर ल्याएको समान एकैपटक विमानस्थलमा जफत हुँदा यात्रुले निकै असन्तुष्टि जनाएका छन् नि ?

सबैले कानुन जान्नुपर्छ । यसबारे हाम्रै वेबसाइटमा पनि पर्याप्त जानकारी राखेका छौं । त्रिभुवन विमानस्थलको वेबसाइटमा पनि यसबारे जानकारी दिएका छौं । यस्तै विभिन्न सञ्चार माध्यमबाट पनि झिटीगुन्टा आदेशबारे पर्याप्त समाचार सम्प्रेषण भएका छन् ।

त्यतिले मात्रै पुग्दैन भनेर नेपाल आउने विदेशी एयरलाइन्सहरुलाई पनि औपचारिकरुपमै नेपालको भन्सारका नियमहरुबारे जानकारी दिएका छौं । कतार, थाइल्याण्ड, मलेसिया, हङकङ, दुबई सबैतिरबाट आउने वायुसेवालाई भन्सारमा गरिएको कडाइबारे जानकारी दिएर आफ्नो यात्रुलाई सेचत गर्न भनेका छौं ।

यस्तै, हामीले चीन र भारतको दूतावासमै पत्र लेखेर यसबारे जानकारी दिएका छौं । हामीले प्रयास कम गरेका हैनौं । धेरैलाई यो कुरा थाहा पनि हुँदै गएको छ । त्यसैले अवैधरुपमा आउने झिटीगुन्टा निकै कम पनि भएको छ ।

पहिले पनि समय-समयमा यस्तो कडाइ हुन्थ्यो, पछि चेकजाँच फितलो हुन्थ्यो । यसपटक पनि कुनै यो हो-हल्ला अवधिसम्मका लागि मात्रै हो कि ?

पहिले-पहिले त्यस्तो भयो । अब त्यस्तो हुँदैन । ऐनमा जे-जे लेखिएका छन्, अक्षरसः पालना हुन्छ । यसका लागि यो प्रयास निरन्तर जारी हुन्छ ।

पहिले लेखिएका कुरा पनि कार्यान्वयन नगर्दा अहिले समस्या भएको जस्तो देखियो । तर, अब भविश्यमा पनि हामी यस्तो कडाइलाई निरन्तरता दिन्छौं । नियम कानुन मिच्ने छुट कसैलाई कहिल्यै हुँदैन । हामी विमानस्थलमा लगातार यो निगरानी जारी राख्छौं । विदेशबाट जति पनि समान ल्याउनुस् भन्न सकिँदैन ।

धेरैथरिका सामानहरु जफत हुँदैनन् । तर, बढी गुनासो रक्सीको जफतका विषयमा आउने रहेछ । किन होला ?

हाम्रो देशमा पि्रमियम रक्सीमा अन्तःशुल्क र अन्य कर धेरै हुँदा धेरै महंगो पर्छ । त्यही रक्सी विदेशमा ड्युटी फ्रीमा किन्दा सस्तो पर्छ ।

विदेशमा दुईवटा रक्सी किन्दा एउटा सित्तैमा दिनेदेखि आकर्षक प्याकेजिङ गरिदिनेसम्मका अफर हुन्छन् । यस्तोमा नेपालीहरु लोभिन्छन् र देशको कानुनको ख्याल नगरी किनेर ल्याउँछन् ।

नियम मिचेर धेरै परिमाणमा रक्सी नै आउँछ । यसले समस्या ल्याएको हो । तर, यहाँ अहिले झिटीगुन्टा आदेश निकै कडाइका साथ लागू भएको भएको छ । विस्तारै यस्तो क्रम घट्दै गएकाले अब स्थिति समान्यमा पुग्छ भन्ने हामीलाई लागेको छ ।

तपाईंहरु झिटीगुन्टा आदेशको रटान लगाइरहनुभएको छ । भन्सार जाँचमा त व्यवहारिकता हेरेर पनि यसमा लचकता अपनाउनुपर्ने होइ न र ? अझ यसमाथि झिटीगुन्टा आदेश नै अव्यवहारिक छ भन्ने प्रश्न पनि उठेको छ नि ?

सरकारले आर्थिक ऐन अन्तरगत रहेर झिटीगुन्टा आदेश जारी गर्छ । हामीले यसको पालना गराउने हो, मैले भन्सारको प्रमुखका रुपमा त्यही कानुनको कार्यान्वयन गर्नुपर्छ ।

मलाई लाग्दैन कि झिटी गुन्टाआदेशले विदेशबाट फर्किने नेपालीलाई अन्याय गरेको छ । किनभने अहिले पनि दिनमा २-३ सय टेलिभिजन सेट विनाभन्सार विमानस्थलबाट आउँदैछन् । एकजनाले ल्याउँदा एउटा मात्रै त हो नि भन्ने जस्तो लाग्ला, तर सयौंले ल्याउँदा त्यसको मात्रा थोरै हुँदैन । सरकारले राजस्व मात्रै हेरेको भए यस्तो छुट पनि दिँदैन थियो होला नि !

झिटीगुन्टामा अरु केके सामान ल्याउन पाइन्छ ?

धेरै समान झिटीगुन्टामर्फत ल्याउन पाइन्छ । १५ जोरसम्म लुगाकपडा, एक थान नयाँ मोबाइल सेट, सुनका गहना लगायत धेरै ल्याउन दिइएको छ । कतिपय व्यवसायिक पेशामा व्यक्तिले खेलकुदका लगायत विभिन्न समाग्री पनि ल्याइरहेका छन् ।

तर, तपाईंले त्यसो भनिरहँदा हिजोमात्रै विमानस्थल भन्सारले निकालेको सूचनामा त क्रिकेट ब्यागसमेत लिलामीमा राखेको देखियो नि ?

सबैले स्पष्ट भए हुन्छ, हामीले कानुनभन्दा विपरीत हुने गरी ल्याएका कुनै पनि सामाग्री छोड्दैनौं । तर, लिलामीमा राखिएका क्रिकेट ब्याग भने हामीले विमानस्थलमा जफत गरेका होइनौं । ती भारतबाट आएका क्रिकेट ब्याग हुन् ।

प्रहरीले विमानस्थल बाहिरबाटै जफत गरेर हामीलाई बुझाएको थियो । त्यसलाई पनि लिलामीमा राखेका हौं । हामीले कानुनले गर्नु हुँदैन भन्छ त्यही हेर्ने हो । जे गर्नुपर्छ भन्छ त्यही गर्ने हो ।

आदेशमा तोकिएका कतिपय वस्तुको परिमाण थोरै भए भन्ने गुनासो छ । कतिपय व्यवस्था रेमिट्यान्सको स्रोतका रुपमा रहेका विदेश बस्ने कामदारको अनुकुल भएन भन्ने पनि छ ? यसलाई सुधार गर्नुपर्ने माग उठेको छ, यो तत्काल सम्भव छ कि छैन ?

तत्कालै सम्भव छैन । यो विषय अर्थ मन्त्रालयको हो । कुन वस्तुलाई भन्सार नतिरी विमानस्थलबाट आउन दिने, कुनलाई भन्सार तिरेर आउन दिने र कुनलाई भन्सार तिरेर पनि आउन नदिने भन्ने विषयमा निर्णय लिने उसैले हो ।

भन्सार विभागले त्यस अनुरुप आदेश दिने हो । हामीजस्ता भन्सार कार्यालय कार्यान्वयन गर्ने हो । तत्कालै यसमा परिमार्जन गर्न सम्भव हुन्छ जस्तो मलाई लाग्दैन ।

सामान जफत त गर्नुहुन्छ, तर त्यसको धेरै अंश त भन्सारकै कर्मचारीहरुले दुरुपयोग गर्छन् भन्ने आरोप लाग्छ नि ?

यो सरासर गलत कुरा हो । यदि त्यसो हुन्थ्यो भने हिजो मात्रै हामीले निकालेको लिलामीको सूचना के हो ? हामी जफत भएका समानको पारदर्शी रुपमा संरक्षण र लिलामी गर्छौंं ।

एउटा पनि समानमाथि कसैले बदमासी गर्न पाउँदैन । जफत भएको समान सरकारको हो, सरकारको भन्नु अन्नतः नागरिककै सम्पत्ति हो ।

यसको सही ढंगबाट हिफाजत हुन्छ र त्यसैअनुसार पारदर्शी रुपमा लिलामी हुन्छ । यसमा कसैले शंका गर्नुपर्दैन । यसले सरकारको राजश्वमा नै योगदान दिन्छ । अन्ततः देश विकासमै खर्च हुन्छ ।

विमानस्थल भन्सारका कर्मचारीको बोली र व्यवहारमाथि पनि प्रश्न उठिरहन्छ । अञ्जानबस ल्याएका सामान्य सामग्री जफत गर्दा पनि भन्सारका कर्मचारीले दुव्र्यवहार गर्ने गरेको गुनासो व्याप्त छ, कहिले सुध्रन्छ यो विमानस्थल भन्सार ?

कर्मचारीलाई हामीले जस्तो अवस्थामा पनि यात्रुसँग विनम्र र उत्तरदायी हुनु भनेका छौं । विमानस्थलको भन्सारमा खटिने सबै कर्मचारी यसमा सचेत छन् ।

बरु सामान जफत हुँदा कतिपय यात्रुहरु नै गालीगलौचमा उत्रनुहुन्छ । हामीलाई निकै अप्ठ्यारो पर्छ ।

कतिपय त रक्सी पिएर आउनुभएको हुन्छ । सम्हाल्नै सकिँदैन । अस्ति एकजना महिलाले रक्सीको बोतल नै फुटाइदिइन् । हामीले प्रहरीकै सहयोग लिएर काम गर्नुपर्ने अवस्था छ ।

तर, जस्तो अवस्था भए पनि मैले कर्मचारीलाई नरम भएर काम गर्नुस् भनेको छु । म तपाईंहरुलाई पनि स्वागत गर्छु कसरी हाम्रा कर्मचारीले यस्तो अवस्था ह्यान्डल गर्छन् भन्ने स्थलतगतरुपमै हेरौं, आउनुस् ।

तपाईंले जे जस्तो दाबी गरे पनि अहिले भन्सारमा चालिएको कदममा विदेश बस्ने नेपाली एक रत्ति पनि खुसी छैनन् । कानुनको डन्डा लगाउनु अघि यसबारे बुझाउन जरुरी त होला नि ?

हामीले विदेशमा बस्ने सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गरेका छौं । अहिले पनि दुई हात जोडेर भनिरहेका छौं कि कानुन मानिदिनुस् । अटेरी भयो भने कानुनको कार्यान्वयन पनि गराउनैपर्ने हुन्छ ।

यो झिटीगुन्टाको सुविधा उहाँहरुलाई नै सहज होस् भनेर व्यवस्था गरिएको हो । यसलाई सदुपयोग गर्दा नै बेस हुन्छ । यसलाई दुरुपयोग गरियो भने सीमित व्यक्तिलाई फाइदा त हुन्छ, तर देशलाई घाटा पनि हुन सक्छ ।

यसमा सबैले संयमता अपनाएर कानुन कार्यान्वयनमा हामीलाई सहयोग गरिररहनुभएको छ, अब पनि सहयोग होस् भन्ने हाम्रो चाहाना हो ।

झिटीगुन्टा आदेश मात्रै हैन, समग्र विमानस्थल भन्सार प्रणालीमाथि नै अहिले प्रश्न उठिरहेको हुन्छ । सुधारका लागि के सोच्नुभएको छ ?

भन्सार प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन जरुरी हुन्छ । त्यसका लागि धेरै प्रयास र काम भएका छन्, हुँदैछन् । थप योजनाहरु पनि आगामी बजेटमार्फत आउलान् । सरकारले आफ्ना लक्ष्य तथा उद्देश्य प्राप्त गर्न अन्तरराष्ट्रियरुपमा भएका सम्झौताहरु क्रमशः कार्यान्वयन पनि गर्ला ।

त्रिभुवन विमानस्थलको स्तरोन्ततिका लागि सरकारले सोचेको छ । विस्तारै सबैले अपेक्षा गरेजस्तै यो बन्नेछ । यात्रुको सास्ती घटाउने कुरामा हामी पनि चिन्तित छौं ।

अनालाइनखबरबाट शाभार

तपाईको प्रतिक्रिया