Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
केशवराज जोशी

२२ माघ । को हुन् भारतले १९२ देशमा खोजिरहेका ‘मोस्ट वान्टेड’ ६ नेपाली ?

काठमाडौं । भारतीय प्रहरीले एक महिलासहित ६ जना नेपाली नागरिकलाई रेड नोटिस नै जारी गरेर विश्वभर खोजिरहेको छ । भारतीय प्रहरीले १ सय ९२ वटा देशको प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मार्फत् रेड नोटिस जारी गरेर ६ जना नेपालीलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको हो ।

भारतीय भूमिमा अपराध गरेर फरार रहेका ६ जना नेपालीलाई भारतसँगै १ सय ९२ देशका प्रहरीले खोजिरहेका छन् । गत जेठसम्ममा भारतले इन्टरपोलमार्फत् रेड नोटिस जारी गरेर ४ नेपाली महिला र २२ जना पुरुष गरेर २६ जनाको खोजी गरिरहेको थियो ।

इन्टरपोलले पक्राउ परिसकेका व्यक्तिलाई भने नोटिसबाट हटाउने गरेको छ । नेपाल प्रहरी इन्टरपोलको सदस्य हो । भारतले ६ जना नेपालीविरुद्ध रेड नोटिस जारी गरेको भए पनि उनीहरु कहाँ छन् भन्ने जानकारी नभएको नेपाल प्रहरी बताउँछ । प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदी अपराधमा संलग्न जुनसुकै देशको नागरिक भएपनि अपराधअनुसार सजाय पाउनुपर्ने बताउँछन् ।

रेड नोटिस जारी भएका जुनसुकै देशका नागरिक भएपनि नेपाल प्रहरीको जानकारीमा आएको अवस्थामा पक्राउका लागि सहयोग गर्ने एसएसपी सुवेदीले बताए । रेड नोटिस जारी भएपनि आफ्नै देशका नागरिकलाई भने सम्बन्धित देशले प्रायः अर्को देशलाई दिन मान्दैनन् । नेपाल प्रहरीका एक अधिकारी भन्छन्, ‘‘पक्राउ परेको अवस्थामा कतिपयलाई कूटनीतिक रुपमा ल्याउने लैजाने गरिन्छ । तर आफ्नै देशका नागरिकलाई प्रायः दिन कोही तयार हुँदैनन् ।’’

को हुन् भारतले खोजिरहेका ६ नेपाली ?
भारतीय प्रहरीले एक महिलासहित ६ नेपाली खोजिरहेको छ । उनीहरु १ सय ९२ देशका प्रहरीको आँखा छलेर बसेका छन् ।

देवी ओली
भारतले खोजेकी नेपाली महिला हुन् ३४ वर्षीया देवी ओली । देवीलाई अपहरण गरेको अभियोग छ । देवीले भारतमै अपहरणका घटना घटाएको भारतीय प्रहरीको दाबी छ । उनले व्यक्ति अपहरण गर्दै फिरौती मागेको पाइएपछि उनीविरुद्ध भारतीय प्रहरीले रेड नोटिस जारी गरेको हो । देवीको ठेगाना भने उल्लेख गरिएको छैन । हाल भारतले आफ्नै देशका अधिकाशंसहित १ सय ६० जनाविरुद्ध रेड नोटिस इन्टरपोलमार्फत् जारी गराएको छ ।

चक्रसिंह ठकुरी
६६ वर्षीय चक्रसिंह ठकुरी भारतीय प्रहरीको खोजीमा रहेका अर्का नेपाली हुन् । खत्रीलाई भारतमा हत्याको अभियोग छ । उनको ठेगाना पनि खुल्न सकेको छैन । उनको तस्बीर बिनै नोटिस जारी गरिएको छ ।

ताहिर साह
५५ वर्षीय ताहिर साह काठमाडौंको टंगालका बासिन्दा हुन् । उनीमाथि हत्या अभियोग लगाएर नोटिस जारी गरिएको छ । उनको पनि तस्बीर उपलब्ध हुन सकेको छैन ।

भीमे दमाई
३६ वर्षीय भीमे दमाईको नेपालको ठेगाना कहाँ हो खुल्न सकेको छैन । उनीमाथि भारतमा मान्छे मारेर फरार भएको अभियोग छ ।

राजेश/राजेन्द्र बहादुर
३० वर्षीय बाजुरा चताराका बहादुरमाथि भारतीय प्रहरीले चोरीमा संलग्न भएको आरोप लगाएको छ । उनीविरुद्ध भारतका भएका विभिन्न ठूला चोरीमा संलग्न भएको दाबीसहित रेड नोटिस जारी गरिएको हो ।

हरिहर भुसाल
६७ वर्षीय हरिहर भुसाल भारतीय प्रहरीले संसारभर खोजिरहेका छैटौं नेपाली नागरिक हुन् । भुसालमाथि ठगी आरोपसहित रेड नोटिस जारी गरिएको हो । उनको ठेगाना उल्लेख नभए पनि भुसाललाई नेपालीसहित अंगेजी, हिन्दी लगायत केही अन्य भाषाको पनि राम्रो ज्ञान भएको बताइएको छ ।

२९ जना नेपालीविरुद्ध रेड नोटिस
इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन (इन्टरपोल)ले प्रहरी अपराध संगठनको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको आग्रहमा २९ जना नेपाली र २ जना भारतीयविरुद्ध रेड नोटिस जारी गरेको छ । बलात्कार, हत्या, अपहरण, बैङ्किङ कसुर–ठगी, सुन तस्करी लगायतका अपराधमा फरार रहेका २९ जनाविरुद्ध रेड नोटिस जारी गरिएको एनसीबीलाई उद्धत गर्दै प्रहरी प्रवक्ता एसएसपी सुवेदीले बताए ।

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंका एसपी उमेश जोशीका अनुसार रेड नोटिस आपराधिक घटनाका अभियुक्त वा अपराधीविरुद्ध सदस्य राष्ट्रको आग्रहमा इन्टरपोलले जारी गर्ने ‘एरेस्ट वारेन्ट’ हो । एसपी जोशीले पछिल्लो समयमा विभिन्न अपराधमा संलग्न फरार अभियुक्तको खोजीका लागि इन्टरपोलमार्फत् सक्रियता बढाइएको बताए । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा रेड नोटिस बढी जारी भएको उनले जानकारी दिए ।

नेपालको आग्रहमा रेड नोटिस जारी भएकाहरुमा आङबीर बोहरा, भक्तबहादुर लामा, भीमलाल शर्मा, भोजराज भण्डारी, भुपेन्द्र खड्का, विष्णु बहादुर लामा, चेतनाथ भण्डारी, फकिर रियाज लालु अर्जुन, गोविन्द प्रसाद तिवारी, गुल्जार मिया, केशव दर्लामी मगर, लालराज गौतम, मोहन कुमार अग्रवाल, ओकेन्द्र बहादुर सिहं, पवनकुमार कार्की, पशुपतिनाथ शुक्ला रहेका छन् ।

यस्तै राहुल हल्दीया, रामबहादुर तामाङ, रामकुमार यादव, रमेश उप्रेती, रोहित आचार्य, रुद्र आचार्य, टुकबहादुर मगर, कृष्ण बस्नेत, कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का, उस्तम मिया, साल बहादुर गुरुङ, पेमा शेर्पा, होमबहादुर कार्की र लालुप्रसाद यादव पनि उक्त लिस्टमा छन् ।

तपाईको प्रतिक्रिया