Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

काठमाडौं, १७ भदौ २०८२ । अफगानिस्तानमा आइतबार (भदौ १५) गएको ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ११ सय २४ जनाको मृत्यु भएको छ । ३२ सय ५१ जना घाइते भएको अफगानिस्तान रेड क्रिसेन्ट सोसाइटीले मंगलबार बताएको छ ।

विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान लिएको र पूरै गाउँहरू ध्वस्त पारेको छ । काबुलमा समेत शक्तिशाली पराकम्प महसुस गरिएको थियो ।

यसैबीच तालिवान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन् । युद्धले तहसनहस भएको अफगानिस्तान पहिलेदेखि नै खाद्यान्न अभाव र विदेशी सहायतामा कटौतीको समस्यासँग जुधिरहेको छ ।

भारी वर्षा, पहिरो र क्षतिग्रस्त सडकका कारण भूकम्पबाट सबैभन्दा बढी प्रभावित दुर्गम पहाडी क्षेत्रहरूमा राहत टोलीहरूलाई पुग्न कठिनाइ भएको सीएनएनले जनाएको छ ।

सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि देशमा विदेशी सहायतामा कटौती भएको छ । अमेरिकाले हालै सहायतामा गरेको कटौतीले पनि राहत कार्यमा थप चुनौती थपेको बताइएको छ ।

रोयटर्सका अनुसार, भूकम्पले छिमेकी कुनार प्रान्तका तीनवटा गाउँ ध्वस्त पारेको थियो । तालिबान सरकार र मानवीय सहायताकर्मीहरूका अनुसार लगमान, नुरिस्तान र पन्जशिर प्रान्तमा पनि क्षति भएको बताइएको छ ।

छिमेकी पाकिस्तानका धेरै सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार, भूकम्प आइतबार मध्यरातअघि पाकिस्तानको सिमानानजिक रहेको नन्गारहार प्रान्तको जलालाबाद सहरबाट २७ किलोमिटर उत्तर–पूर्वमा गएको थियो । करिब दुई लाख जनसंख्या भएको यो पहाडी क्षेत्रमा भूकम्पीय गतिविधिहरू सामान्य मानिन्छन् । भूकम्पको गहिराइ करिब आठ किलोमिटर मात्र थियो । सतही भूकम्पहरू प्रायः बढी विनाशकारी हुने गर्छन् ।

 

तपाईको प्रतिक्रिया