Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं,माघ २१। वाइडबडी विमान मर्मतका लागि महँगो बोलपत्रलाई स्वीकृत गरेको भन्दै संसदको सार्वजनिक लेखा समितिमा २ वटा उजुरी परेका छन् । नेपाल वायुसेवा निगमको ३३० एयरबसको एयरफ्रेम र इन्जिनको पावरवाई आवर मर्मत सम्भारमा न्यूनतम मूल्य अङ्कित बोलपत्रदातालाई छोडेर महँगो मूल्याङ्कन भएको बोलपत्रदातालाई छनौट गरी आर्थिक अनियमितता र भष्ट्राचार गरेको भन्दै उजुरी परेको हो ।

अञ्जना क्षेत्री र प्रशंसा क्षेत्रीको नाममा गरिएको उजुरीमा लुफ्थान्जा टेक्निक सर्भिस इन्डियाले सबैभन्दा सस्तो प्रस्ताव पेश गरेकोमा निगमको व्यवस्थापनले एकाएक बढी मूल्य प्रस्तावक एजे वाल्टर एभिएसन लिमिटेड यूके नामक कम्पनीलाई छनोट गरी अनियमितता भएको दाबी गरिएको छ ।

वायु सेवा निगमका दुई थान एयरबसका ३३० सेरिजका वाइडबडी विमान र तिनमा लाग्ने चार वटा रोल्सरोयस कम्पनीका ७७२ बी सेरिजका इन्जिनका विभिन्न पार्टपुर्जा पावर वाई बेसिसमा फेर्नका लागि निगमले गत असार २७ गते ४५ दिन अवधि राखेर बोलपत्र गरेको थियो ।

एएआर कर्पोरेसन यूएसय, एजे वाल्टर एभिएसन लिमिटेड यूके, लुफ्थान्जा टेक्निक सर्भिस जमर्नी र एक टी एरोस्पेस सप्लाएर लिमिटेड सिङ्गापुर बोलपत्रमा सहभागी भएका थिए । उजुरीकर्ताको दाबीअनुसार अन्य प्रतिस्पर्धी कम्पनीमध्ये लुफ्थान्जा टेक्निक सर्भिस कम्पनीले सबैभन्दा सस्तो प्रस्ताव पेश गरेको निगमको मूल्याङ्कन समितिका पदाधिकारीले नै सार्वजनिक गरेका थिए ।

अञ्जना क्षेत्रीले गरेको उजुरीमा भनिएको छ–‘लुफ्थान्जा टेक्निकको सेवा केन्द्र नेपाल वायुसेवा निगमको नियमित उडान रहेको भारतको सूचना प्रविधि सहर बेङ्लोरमा रहेकाले र मर्मत सम्भारमा पनि निगमलाई नियमित उडानको खर्चबाहेक जहाज लैजान ल्याउन अतिरिक्त खर्च नलाग्नुका साथै समयको पनि वचत हुने, प्राविधिकहरुको भ्रमणमा पनि निगमलाई ठूलो खर्चको बचत हुने र छिट्टै मर्मतसम्भार भएर विमानहरु नियमित उडानमा आउने अवस्था रहेकाले मूल्याङ्कन समितिका पदाधिकारीहरू मर्मत सम्भारको जिम्मा यसैलाई दिन लगभग सहमत भएका थिए ।’
लेखा समितिमा परेको दुवै उजुरीमा विमान मर्मतका लागि आह्वान गरेको बोलपत्र छनौटमा अनियमितता भएको दाबी गर्दै बोलपत्रका कागजात र मूल्याङ्कन प्रतिवेदन झिकाई आर्थिक अनियमितता बारे छानविन गर्न माग गरिएको छ ।

उजुरीमा वायुसेवा निगमको इन्जिनिररिङ विभागले पत्र पठाएर केही कुरामा स्पष्ट हुन पत्र पठाएपछि कम्पनीले एमआरओ सेवामा ठूलो लगानी गरी ८० प्रतिशत मर्मतको काम आफ्नै सेवा केन्द्रमा दिने, मर्मतका साथै जगेडा इन्जिनको समेत व्यवस्था गर्ने, मर्मत तथा खर्चमा बोलपत्रमा उल्लेख गरेको भन्दा पनि १० प्रतिशत कम दरमा काम गर्न तयार भएको स्पष्ट पार्दा पनि बढी मूल्य कबोल गर्ने कम्पनी छनौट गरेको दाबी गरिएको छ ।

यस्तै प्रसंशा क्षेत्रीले गरेको अर्को उजुरीमा निगमका पदाधिकारीलाई मोटो रकम दिन नसक्ने भएपछि गएको पुस २४ गते अर्को टेन्डर आह्वान गरेको आरोप लगाइएको छ । उजुरीमा भनिएको छ– ‘लुफ्थान्सा टेक्निक युरोपको प्रतिष्ठित कम्पनी भएको तथा टेन्डर कारोवारमा पारदर्शी भएको र पदाधिकारीलाई मोटो रकम दिन नसक्ने भएपछि वायुसेवा निगमको सेवालाई गम्भीर असर पुर्याउने तथा संस्था तथा राष्ट्रलाई अर्बौं रुपैयाँ डुबाउने प्रपञ्च गरी सो सो टेन्डर लुफ्थान्सालाई नै पर्ने निश्चित देखिएपछि सो टेन्डर प्रक्रियालाई रद्द गरी ८ जनवरी २०१९ मा अर्को बोलपत्र आह्वान गरिएको छ । जसमा इन्जिनसम्बन्धी कुनै उल्लेख छैन ।’

लेखा समितिमा परेको दुवै उजुरीमा विमान मर्मतका लागि आह्वान गरेको बोलपत्र छनौटमा अनियमितता भएको दाबी गर्दै बोलपत्रका कागजात र मूल्याङ्कन प्रतिवेदन झिकाई आर्थिक अनियमितता बारे छानविन गर्न माग गरिएको छ ।

यसअघि संसदको सार्वजनिक लेखा समितिले बनाएको उपसमितिले वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको छ । लेखा समितिले विमान खरिदमा नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार, पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा तत्कालीन सचिव शङ्करप्रसाद अधिकारीलाई मुख्य दोषी ठह¥याउँदै कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारलाई निर्देशन दिएको थियो ।

यस्तै बाहालवाला संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी र पूर्वमन्त्रीहरु जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई नैतिक जिम्मेवारी लिनुपर्ने भनेको थियो ।

रातोपाटी

तपाईको प्रतिक्रिया