Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

विराटनगर, २१ माघ।  प्रदेश १ संसद्को हिउँदे अधिवेशन आइतबार सुरु भएको छ । चार महिनापछि बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाउनेछ । प्रदेशसभा सदस्यले जसरी भए पनि यो विषय टुंग्याउनुपर्ने बताएका छन् ।

संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले जनतालाई यसबारे जवाफ दिन नसकिरहेको बताए । ‘नाम र राजधानी कहिले टुंगो लगाउनुहुन्छ भनेर जनताले प्रश्न गर्छन्’, उनले भने, ‘लाजमर्दो हुन लागिसक्यो, एक वर्षमा पनि हामीले जनतालाई जवाफ दिन सकेका छैनौं ।’प्रदेश सरकार र संसद्ले जनभावनाअनुरूप काम गर्नुपर्ने उनको भनाइ थियो ।

अर्की प्रदेशसभा सदस्य विष्णुु तुम्बाहाङले सबैको पहिचान समेट्ने गरी प्रदेशको नाम राख्न सुझाव दिइन् । प्रदेशको नाम र राजधानी तोक्दा सडकमा उठिरहेको आवाजलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले रफ्तारमा काम गर्नुपर्ने बताए । ‘यो वा त्यो बहानामा समय खेर फाल्नु हुँदैन’, उनले भने, ‘संघीयतालाई कागजको डुंगाजस्तो नठानियोस् । जनताका माग सम्बोधन गर्न चाँडो कार्यसम्पादन गर्नुपर्यो ।’

हिउँदे अधिवेशनको पहिलो बैठकमा कांग्रेसका कोइराला, राप्रपाकी इन्दिरा राई, फोरमका यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी तुम्बाहाङ र नेकपाका टंक आङ्बुहाङले बोलेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले अर्को बैठक माघ २३ मा बोलाएका छन् । सभामुख भण्डारीले अघिल्ला दुई अधिवेशनले एक नियमावली र २२ विधेयक पारित गरेको उल्लेख गरे । दुई विधेयक संसदीय समितिमा गइसकेको र चारवटा प्रदेशसभामा दर्ता भएको उनले सुनाए । प्रदेश सरकारले ६ विधेयक ल्याउने तयारी गरेको छ ।

राजधानी र नामको टुंगो लाग्छ : मन्त्री

मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनले जसरी भए पनि प्रदेश राजधानी र नामकरण टुंगो लगाउने बताएका छन् । सहमति नभए प्रक्रियामा जाने उनको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बिहान पत्रकार सम्मेलन गरी उनले संसद्मा प्रवेश गराउने विषयको जानकारी दिएका हुन् ।

‘स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने चासोको विषय बनेको छ’, उनले भने, ‘यसअघिको अधिवेशनमा यो विषयलाई टुंगो लगाउन सकिएन ।’ प्रदेश राजधानी विराटनगर र नाम कोसी हुने कुरामा शीर्ष नेताहरूबीच सहमति भएको प्रसंग आफूलाई जानकारी नभएको उनले बताए ।

उनले संसद्का विभिन्न समितिका सभापतिको टुंगो पनि लाग्ने जानकारी दिए । ‘हिउँदे अधिवेशनबाट स्थायी राजधानी, नाम तथा संसद्बाट पारित हुने विधेयक र समिति सभापतिको विषय टुंगो लगाइनेछ’, उनले भने ।

अन्नपूर्णपोस्टबाट साभार

तपाईको प्रतिक्रिया