Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, २१ माघ । अब राजनीतिक दलहरुले पनि सर्वसाधारणले देख्ने गरी सूचना अधिकारीको नम्बर फ्लेक्सबोर्डमा सार्वजनिक गर्नुपर्ने भएको छ । यसअघि दलहरुले प्रवक्ता तोके पनि उनीहरुको फोन नम्बर फ्लेक्स बोर्डमार्फत् सार्वजनिक भने गरेका थिएनन् ।

राष्ट्रिय सूचना आयोगले हालै निर्वाचन आयोगमा दर्ता भएका १८० ओटा राजनीतिक दलहरुलाई अनिवार्यरुपमा सूचना अधिकारी तोक्न र निजको सम्पर्क नम्बरसहितको फ्लेक्स बोर्ड सार्वजनिक गर्न निर्देशन दिएको छ ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा १९ (ख) बमोजिम सार्वजनिक निकायमा रहेका अभिलेख, लिखत वा अन्य सामाग्री सम्बन्धी सूचना सूचिकृत गर्री मिलाइ राख्न आदेश दिन सक्ने अधिकार आयोगलाई छ । सोही अधिकारअनुसार आयोगले गत २०७३ पुस १९ गते नै राजनीतिक दलहरुका लागि तीन बुँदे निर्देशन जारी गरेको थियो ।

निर्देशनको पहिलो नम्बरमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम प्रत्येक ३–३ महिनामा २० बुँदामा आफ्ना गतिविधि नियमित रुपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

यसैगरी अनिवार्य रुपमा सूचना अधिकारी तोकेर निजको सम्पर्क नम्बरसहितको फ्लेक्स बोर्ड सार्वजनिक गर्न र सूचना माग भएको र सूचना प्रवाह भएको छुट्टै अभिलेख राखेर सोको अद्यावधिक विवरणसहित सार्वजनिक गर्न पनि आयोगले निर्देशन दिएको छ ।

आयोगले सबै राजनीतिक दलका साथै नेपाल राष्ट्र बैंकका गभर्नर र २३७ ओटा बैंक तथा वित्तिय संस्थाहरु, बीमा समितिका अध्यक्ष, २७ ओटा बीमा कम्पनीहरु, ६२ ओटा सार्वजनिक संस्थान, समाजकल्याण परिषदका सदस्य सचिव र २५७ ओटा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहरुलाई पनि तीन बुँदे निर्देशन जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया