कुमार लुइँटेल

विराटनगर । ‘‘बहुत जाड छिए, कते जेभी गे (धेरै जाडो छ छोरी, कता जान्छ्यौ?),’’ साँझ ८ बजेतिर मीनादेवीले छोरी रुपमति दासलाई सोधिन् । फेरि आग्रह गरिन् र भनिन्,‘‘नै जो आज घरमै रह (भै गो आज नजाउ, घरमै बस ) ।’’ तर, रुपमतिले ‘टिभी देखे जैछी (टिभी हेर्न जान्छु)’ भन्दै आमाको आग्रह मानिनन् । अनि लागिन छिमेकीको घरतिर ।

दिनभर ठेला चलाएर थाकेका बुबा रामप्रसाद सम्साझैं उँघ्न थालिसकेका थिए । कतिबेला भुसुक्कै निदाएछन् पत्तै भएन । मीनादेवीका आँखा पनि पोल्न थालिसकेका थिए । रात छिप्पिँदै थियो । परिवारले ‘टिभी हेरेर छिमेककै घरमा सुतिन होला !’

भन्ने लख काटे । यसो ओछ्यानमा पल्टिएकी मीनादेवी पनि भुसुक्कै निदाइछन् । आँखा बिहान मात्र खुले । रातको थकान थियो । काखका साना दुई छोरालाई सुताइन् । छोरी आउँदै होलिन् भन्ने सोचिन् । ‘‘थकानका कारण राति त धेरैबेर बस्नै सकिँदैन । निद्राले छोपिहाल्छ,’’ उनले सुनाइन् । गत माघ १२ गते राति दास परिवारमा परिवेश यस्तै थियो । प्रायः साँझमा टिभी हेरेर सँधै घर फर्कने रुपमति भने त्यो रात फर्किनन् । के त्यो रात ! त्यसपछि कहिल्यै फर्किईनन् ।

∙∙∙

माघ १३ गते विराटनगर ८ को सिंघिया नदीमा बस्त्रविहीन शव पानीमाथि उत्रिरहेको थियो । ‘मुखबाट रगत बगेको, घाँटीमा निलडाम देखिएको र यौनाङ्ग वरिपरि रगत जमेको’ बालिकाको शव नदीमा भेटियो । माछा मार्नेले पहिलो पटक देखे । यो खबर निमेषभरमै टोलभरि फैलियो । धेरैलाई जिज्ञासा भयो ‘त्यो को होला ?’

सीतादेवी दास पनि नदी किनार पुगिन् । शव हेरिन् । को मान्छे होला भनेर शुरुमा जिज्ञासा भयो । चिने जस्तो पनि छ । तर, कस्तो दुर्भाग्य ! ‘अरु कोही नभएर शव त आफ्नै प्यारी नातिनी रुपमतिको पो रहेछ ।’ उनी छाँगाबाट खसे झैं भइन् । ओठतालु सुक्यो । केही बोल्न सकिनन् । उनैले नै ‘शव चिनी खोलाबाट किनारमा ल्याई सलले ढाकी दिई आफन्तलाई जानकारी दिइ प्रहरीलाई खबर गराइन् ।’ शवमा एकसरो कपडा थिएन । सर्वाङ्ग नाङ्गो थियो ।

रामप्रसाद र मीनादेवी पनि हतारिँदै खोला किनार पुगे । छिमेकी पनि जम्मा भएका थिए । कल्पना नै नगरेको घटना भइसकेको थियो । मीनादेवीले पनि छोरी रुपमतिको अररो शरीर देखिन् । बोली हरायो । मुखै सुक्यो अनि भक्कानो फुट्यो ।

रोएर आँसु रित्तियो तर आँखा ओभाएनन् । रामप्रसादले जिल्ला प्रहरी कार्यालय मोरङमा तत्कालै हुलिया निवेदन दिए । प्रहरी टोली घटनास्थल पुग्यो । मृतकको घरबाट अन्दाजी ६ सय मिटर तल शव खोला किनारमा राखिएको थियो । मानिसहरुमा डरसँगै आक्रोश उठेको थियो,‘‘यति राम्री फूलजस्ती गुडियालाई कसले यस्तो निर्मम ढंगले निमोठेर खोलामा फ्याँक्यो होला ?’’

मोरङ प्रहरीका एसपी मनोज केसीले भने, ‘‘मृत शरीर खोलामा फालेको, लुगाकपडा फुकालेको, सवुत संकलनलगायत कठिन अवस्था रहेको थियो । अनुसन्धान गर्न थप जटिल भयो ।’’ घटना भएको चार दिनपछि गत माघ १६ गते बालिकाको टोपी बरामद भयो । चप्पल घर नजिकै फेला पर्‍यो । तर, प्रहरी अपराधी नजिक पुग्न प्रयास गरिरहेको थियो ।

यसरी भयो घटना

अब्बास अन्सारीले नशा दिने गोली खाएर आएका थिए । १२ गते साँझ ८ बजेतिर टोलमै घुम्दै थिए । आलुचपमा एउटा चक्की खुसुक्क हालेर टोलकै एक महिलालाई खुवाउन खोजे । तर, महिलाले खाइनन् । ती महिलालाई नशामा लठ्याएर करणी गर्ने उनको योजना विफल बन्यो । त्यसै भौंतारिंदै थिए । त्यसैबेला भेटिए चन्दु महतो । ‘‘आज मलाई खुबै सहबास गर्न मन छ,’’अब्बासले चन्दुसँग आफ्नो चाहना व्यक्त गरे ।

‘‘चिन्ता नगर भै हाल्छ । म व्यवस्था गर्र्छु,’’ चार पाउ स्थानीय रक्सी पिएका चन्दु झुम्म भएको बयानमा बताएको प्रहरी बताउँछ ।

साँझ ८ बजेतिर कोही आफूहरु भएतिरै आएजस्तो देखे । दुबै सतर्क भए । रुपमति टिभी हेरेर घर फर्कँदै थिइन् । दुबैले आफ्नो योजना पूरा गर्ने सपना तत्कालै बुनिहाले । च्याप्प समाए । मुख थुनिदिए अनि एकान्ततिर लगेर पालैपालो प्यास मेटे । दबाएर घाँटी थिचेकोले रुपमतिको प्राण पखेरु उडिसकेको थियो । नशामा रहेका उनीहरुले रुपमतिको कपडा फोहोर फ्याँक्ने ठाउँतिर मिल्काई दिए । शव लिएर खोलातर्फ लागे । पानीमा हुत्याई दिए । अनि सुत्न भनेर घरतिर गए ।

अब्बासलाई रातभर निद्रा परेन । झिसमिसै उठेर खोला किनारमा लास हेर्न गए । बगेकै रहेनछ । जहाँ फ्याँकेको त्यहीँ थियो । फेरि लात्तले धकेलिदिएर पानीमा पल्टाई दिएको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

प्रहरीले स्थानीयको शंका र दुबैको पृष्ठभूमिलाई आधार बनाई पक्राउ गर्दा घटनामा संलग्नताबारे प्रस्ट भएको जनाएको छ ।

पक्राउ परे अपराधी

निर्मला पन्त बलात्कार र हत्या घटनामा जस्तै प्रमाण नष्ट होला भन्ने आशंकाले स्थानीय धेरै सशंकित भएपनि प्रहरीले यस्तो परिस्थिति भने आउन दिएन । घटनामा संलग्नलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

विराटनगर ८ की १० वर्षीया बालिका रुपमति दासको बलात्कारपछि हत्या भएको प्रहरीले खुलाएको छ । घटनामा संलग्न विराटनगर ८ बलुवाही बस्ने वर्ष १९ को चन्दु महतो र सोही स्थान बस्ने वर्ष २५ को भुट्टु भन्ने अब्बास अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको छ । दुबै जना मजदुरी गर्छन् ।

घटना हुनुभन्दा पहिले अन्दाजी राति ८ बजेतर अन्सारी र महतोबीच पीडितको घर नजिकै भेट भएको देखिएको एसपी मनोज केसीले बताए । भने,‘‘दुबैले सल्लाह गरेर बालिकालाई उठाई लगेर नजिकैको चौरमा मुख थुनी पालैपालो जबरजस्ती करणी गरे पश्चात घाँटी थिची हत्या गरेर मृत शरीरलाई सिंघिया खोलामा फालेका रहेछन् ।’’

घटनाको गाम्भीर्यता मनन् गरी थप अनुसन्धान तथा अभियुक्त पक्राउ गर्न छुट्टै प्रहरी टोली बनाई परिचालन गरेको केसीको भनाइ छ । एसपी केसी भन्छन्,‘‘अभियुक्तले अपराध गरे पश्चात निर्वस्त्र मृत शरीर खोलामा फालेको, पीडितका लुगा कपडा लुकाएको, सवुत संकलनलगायतका काम कठिन रहेको हुँदा अनुसन्धान गर्न थप जटिलता सृजना भएको थियो ।’’ दुबैलाई प्रचलित कानुनअनुसार कारबाही हुने एसपी केसीले बताए ।

शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाईएको तथा संकलित भौतिक सवुतहरू परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं तथा औषधि व्यवस्था विभागमा समेतमा पठाइएको छ ।

काजकिरियामै लाग्यो ऋण
दास परिवार सामान्य छ । परिवारको खर्च रामप्रसादले ठेला चलाएको आम्दानीले पूरा गर्छन् । तर त्यतिले मात्र पुग्दैन । श्रीमती पनि मजदुरी गर्छिन । रुपमति हुँदा उनले घरका साना दुई भाइको हेरचाह गर्थिन । आमालाई काम गर्न जान सहज हुन्थ्यो तर १३ गतेदेखि दुबै काम गर्न जान सकेका छैनन् । छोरीको मृत्युको पीडाबाट उक्सनै सकेका छैनन् । रामप्रसादले भने,‘‘छोरीको शव पोस्टमार्टम गर्न जाँदा, आउँदा, काजकिरिया गर्दा दश हजार भन्दा धेरै ऋण लागेको छ । छोरी त गई गई अब ऋण कसरी चुक्ता गर्ने भन्ने पीर छ ।’’ दासका अनुसार प्रहरीले थोरै पैसा दिएर सहयोग गरेको थियो । त्यसले राहत त भयो तर ऋणले टाउको भारी भएको छ ।
बाह्रखरीबाट शाभार

तपाईको प्रतिक्रिया

Comments