काठमाडौं, ३१ साउन २०८२ । पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा हालैको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या तीव्र रूपमा बढ्दो छ । ३०७ जनाको मृत्यु पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।
अधिकांश मृत्यु उत्तर–पश्चिम पाकिस्तानको पहाडी खैबर पख्तुनख्वा प्रान्तमा भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । कम्तीमा ७४ घर क्षतिग्रस्त र एउटा उद्धार हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका पाँच सदस्यको समेत मृत्यु भएको जनाइएको छ ।
पाकिस्तान–प्रशासित कश्मीरमा थप नौजनाको मृत्यु भएको छ । उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँचजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानको उत्तर–पश्चिममा अगस्ट २१ सम्म भारी वर्षाको पूर्वानुमान छ । धेरै स्थानलाई विपद् क्षेत्र घोषणा गरिएको छ ।
बुनरमा बाँच्न सफल एक व्यक्तिले समाचार एजेन्सी एएफपीसँग बाढीका कारण जीवनको अन्तिम दिनजस्तो लागेको बताए । “मैले पहाड खसेजस्तो ठूलो आवाज सुनेँ । म बाहिर दौडिएँ र यो संसारको अन्त्य हुन लागको जस्तो पूरै क्षेत्र हल्लिरहेको देखेँ,” अजिजुल्लाहले भने ।
उनले अगाडि भने, “पानीको कारण जमिन काँपिरहेको थियो र मलाई मृत्यु मेरो सामुन्ने हेरिरहेको जस्तो लाग्यो ।”
खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गडापुरले एम–१७ हेलिकोप्टर अफगानिस्तानसँग सीमा जोडिएको बाजौर क्षेत्रमा उड्दै गर्दा प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताए ।
भारत–प्रशासित कश्मीरको भागमा शुक्रबार उद्धारकर्ताले हिमालयन गाउँबाट बाढी आएपछि माटो र भग्नावशेषबाट शवहरू निकालेका थिए । त्यसले कम्तीमा ६० जनाको ज्यान लिएको र दर्जनौँलाई बगाएको थियो ।






