एजेन्सी, २९ साउन २०८२ । जर्मनी, अन्य देशहरूको तुलनामा धेरै खुला विचारहरूको देशको रूपमा देखिन्छ। खुला ठाउँमा चुरोट पिउने, सार्वजनिक स्थानमा नाङ्गो बस्नु वा १६ वर्षको उमेरमा बियर पिउनु अन्य देशहरूमा गैर कानूनी हुन सक्छ तर जर्मनीमा यो पूर्ण रूपमा छुट छ। यद्यपि, जर्मनीमा धेरै नियमहरू छन्, जस अन्तर्गत भारी जरिवाना तिर्नुपर्ने हुनसक्छ र त्यस्ता नियम अन्य देशका मानिसहरूलाई अनौठो लाग्न सक्छ।
गुड फ्राइडेमा नाच र चलचित्रहरूमा प्रतिबन्ध
जर्मनीका १६ राज्यहरू मध्ये धेरै जसोमा, गुड फ्राइडेलाई “मौन सार्वजनिक बिदा” मानिन्छ। मध्य युगदेखि नै यस दिन नाच्न निषेध गरिएको छ।
यद्यपि, राजधानी बर्लिनमा, यो “टान्स फारबोट” ९नाच्न प्रतिबन्ध० प्रतिको दृष्टिकोण अलि उदार देखिन्छ। त्यहाँ, यो प्रतिबन्ध गुड फ्राइडेमा बिहान ४ बजेदेखि राति ९ बजेसम्म मात्र लागू हुन्छ।
दक्षिणी, क्याथोलिक राज्य बाभेरियामा, यस्तो प्रतिबन्ध बिहीबारदेखि शनिबारसम्म, अर्थात् पूर्ण ७० घण्टासम्म रहन्छ। यो कानून तोड्नेहरूलाई १० हजार यूरो अर्थात् १६ लाख रूपैयाँ बढी जरिवाना गर्न सकिन्छ।
यो धार्मिक दिनमा शान्ति कायम राख्न, कार धुने वा घर सार्ने जस्ता अन्य कोलाहल पूर्ण गतिविधि पनि निषेध गरिएको छ। यसक्रममा जर्मनीका विभिन्न राज्यमा लगभग ७०० चलचित्रमाथि पनि प्रतिबन्धित गरिएको छ।
यद्यपि, जर्मनहरूले इस्टरको समयमा निरन्तर नाच्न माग गर्दै आएका छन् र यस प्रतिबन्धको विरुद्धमा धेरै विरोध प्रदर्शन पनि भइरहेका छन्। सन् २०१३ मा प्रतिबन्धात्मक नियमको विरोधमा पश्चिमी जर्मन राज्य नर्थ राइन–वेस्टफालियाको बोचुम शहरमा “लाइफ अफ ब्रायन” को सार्वजनिक प्रदर्शन गरिएको थियो।
रातमा च्याउ टिप्न र दिनमा जंगली लसुन टिप्न प्रतिबन्ध
जर्मनीमा रातको समयमा जंगल बाट च्याउ टिप्न गैरकानुनी छ। यो नियम रातमा जंगली जनावरलाई बाधा नपुगोस् भनेर लागू गरिएको जर्मन अधिकारीहरू बताउँछन्।
यसैगरी पेस्टो सस वा सुप बनाउन प्रयोग गरिने जंगली लसुनलाई जरा सहित उखालेर हटाउन पनि निषेध गरिएको छ। ओसिलो, छायाँदार जंगल र बाढीग्रस्त क्षेत्रहरूमा, विषाक्त बोटबिरुवा, लिली अफ द भ्यालीलाई जंगली लसुन सम्झेर उखाल्न सक्छन् भन्ने आशंकामा कडा नियम लागू गरिएको बताइन्छ।
व्यक्तिगत उपयोगका लागि प्रयोग गरिने जंगली लसुनका पातहरू जर्मनीमा जति पनि टिप्न पाइन्छ तर संरक्षित क्षेत्रहरूमा बिरुवाहरू उखेल्न वा पातहरू टिप्न कानुनी रूपमा निषेध गरिएको छ।
बालुवाका महल बनाउन निषेध
जर्मनीको उत्तरी सागर र बाल्टिक सागरको किनारमा अवस्थित बिदा मनाउनका लागि रुचाइएका टापुमा बालुवाको महल निर्माण गर्न पाइँदैन।
बालबालिकाहरूले बिदाको समयमा समुद्री किनारमा पौडी खेल्न सक्छन् तर बालुवाको घरहरू बनाएर खेल्न वा गहिरो खाडलहरू खनेमा करिब १ हजार यूरो (अर्थात् एक लाख) जरिवाना हुन सक्छ।
बालुवा खन्ने र सार्ने कामले समुद्री तटको कटान वा क्षय हुन सक्छ भनेर ती टापुहरूमा बालुवाका महल बनाउन प्रतिबन्ध गरिएको हो। तथापि, बाल्टिक सागर टापु रुगेनमा रहेको बिन्ज र सेलिन रिसोर्टमा बालुवाका महल बनाउन अनुमति छ तर तिनीहरूको उचाइ ३० सेन्टिमिटर र परिधि ३.५ मिटरभन्दा बढी हुन नहुने सर्त छन्।
आइतबार किनमेल गर्न वा बगैंचा घाँस काट्न नपाइने
जर्मनीमा आइतबार चौरमा घाँस काट्ने मेसिन वा अन्य विद्युतीय उपकरण चलाउँदा छिमेकीहरू रिसाउन सक्छन् र प्रहरीमा गुनासो गर्न सक्छन्।
आइतबारका दिन रुहेसिट (अर्थात् शान्त समय) धेरै कडाइका साथ पालना गरिन्छ। आइतबार वा अन्य कुनै पनि सार्वजनिक बिदामा घाँस काट्ने मेसिन सहित अन्य मोटर सञ्चालित उपकरण प्रयोग गर्न निषेध गरिएको छ। यो नियम पालना नगर्नेहरूलाई भारी जरिवाना गर्न सक्ने व्यवस्था छ।
आइतबारका दिन सडकहरू शान्त देख्न सकिन्छ। सन् १९५६ देखि लागू भएको लाडेनश्लुसगेजेत्स (पसल बन्द गर्ने कानून) भनिने जर्मन कानून अन्तर्गत आइतबार वा सार्वजनिक बिदामा पसल खोल्न निषेध गरिएको छ।
यद्यपि राज्यहरूलाई २००६ देखि आफ्नै नियम बनाउन अनुमति दिइएको छ र धेरैजसो ठाउँले अहिले पनि आइतबार किनमेल गर्न अनुमति दिँदैनन्।
अटोबानमा गाडीको इन्धन सकिनु हुँदैन
जर्मन अटोबान अर्थात् एक्सप्रेस हाइवेमा इन्धन सकिनु पनि एक प्रकारको अपराध मानिन्छ।
जर्मनीमा कारका सौखिनहरु जसले अटोबानमा निस्कनु अघि आफ्नो ट्याङ्ककी राम्ररी भर्दैनन्, तिनलाई लापरवाह मानिन्छ। यसो गर्दा, उसले आफूलाई मात्र नभई अरूलाई पनि खतरामा पार्छ भन्ने निष्कर्षसहित उसलाई जरिवाना गर्न सकिन्छ ।
जर्मन अटोबानमा कुनै गति सीमा बिना सवारी साधन हरू निकै तीब्र गतिमा गुड्ने भएकाले कुनै कार रोकिँदा जोखिम निम्तिन सक्छ भनिन्छ। अटोबानमा आपतकालीन अवस्थामा र त्यो पनि तोकिएको ठाउँमा मात्र गाडी रोक्न सकिन्छ।






