विराटनगर, २८ साउन २०८२ । सुनसरीको झुम्का कारागारबाट एकजना कैदी फरार भएका छन् । जबरजस्ती करणी अभियोगमा दोषी ठहर भएका खोटाङका दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल खत्री मंलबार राति फरार भएका हुन् ।
खत्री कारागारको ‘बी’ ब्लकबाट पर्खाल नाघेर भागेको जेलर सुवासकुमार लामिछानेले जानकारी दिए ।
सामूहिक बलात्कारको घटनामा दोषी ठहर भएका खत्रीलाई जिल्ला अदालत सुनसरीले ०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो । उनी ०८१ साउन २१ गतेदेखि झुम्का कारागारमा थुनामा थिए ।
उनी फरार भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।






