Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, २० माघ ।  प्रदेश-१ संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि आइतबार प्रदेशका मुख्य मन्त्री शेरधन राईले यस विषयमा विराटनगरमा ‘ब्रिफिङ’ गरेका छन्। मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बिहान ११ बजे पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै राईले हिउँदे अधिवेशनमा संसदमा प्रवेश पाउने विषयको जानकारी गराए।

आइतबार दिउँसो ३ बजे प्रदेशको अस्थायी राजधानी विराटनगरस्थित प्रदेशसभा भवनमा संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ। हिउँदे अविधेशन यसअघि नै प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले आब्हान गरिसकेका छन्।

अधिवेशको मुख्य मुद्दा प्रदेशको स्थायी राजधानी र नामांकरणलाई बनाइने जानकारी मुख्य मन्त्री राईले दिए।’स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने कुरा सबैको चासोको विषय बन्न पुगेको छ,’ उनले भने,’यस अघिको अधिवेशनमा यस विषयलाई टुँगो लगाउन नसकिएका कारण हिउँदे अधिवेशनमा भने नाम र राजधानीलाई मुख्य विषय बनाइने छ।’

महत्वपूर्ण संसद बैठक प्रारम्भ हुने जानकारी दिंदै राईले संसदमा विषय प्रवेष नियमावली अनुसार नै हुने बताए। ‘यो हिउँदे अधिवेशनले जसरी भएपनि नाम र राजधानीको विषय टुँगो लगाउँछ। भरिसक सहमतिको प्रयास हुनेछ,’उनले भने, ‘सहमति नभए प्रक्रियामा गएर भए पनि टुंग्याइने छ। नाम र राजधानीको अन्तिम टुँगो लगाउने अधिकार प्रदेशसभालाई हुन्छ।’

राईले प्रदेश १ को राजधानी विराटनगर र नाम कोसी हुने कुरामा शीर्ष नेताहरुबीच सहमति भइसकेको प्रसंग आफूलाई जानकारी नभएको बताए। यसका लागि राजनीतिक दललाई प्रस्ताव ल्याउने गरी काम थाल्न सरकारले समेत तयारी गरेको बताइएको छ।

उनले यही अधिवेशनमा विचाराधिन अवस्थाका छवटा विधेयकमा पनि छलफल हुने जानकारी दिए। ‘दुईवटा विधेयक यस अघि नै संसदमा दर्ता भएर छलफलको प्रक्रियामा गइसकेका छन्,’ उनले भने, ‘चारवटा छलफलका लागि संसदमा दर्ता भएका छन्।’ उनले विजनेसका रुपमा रहेका विधेयक संसदबाट पारित हुने जानकारी पनि दिए। संसद सचिवालयमा दर्तामा रहेका, विषयगत समितिमा छलफलमा गएका र नयाँ दर्ता हुनेसमेत विधेयमाथि छलफल भई पारित हुने मुख्य मन्त्री राईको भनाइ छ।

उनले संसदका विभिन्न समितिका सभापतिहरु टुँगो लगाउन बाँकी रहेको भन्दै यस अधिवेशनले समितिका सभापति पनि टुँगो लगाउने जानकारी दिए। राईले भने, ‘हिउँदे अधिवेशनबाट स्थानीय राजधानी, नाम तथा संसदबाट पारित हुने विधेयक र समिति सभापतिको विषय टुँगो लगाइने छ।’ उनले प्रदेशको समृद्धि र विकासमा केन्द्रीत हुन सबैलाई आग्रह पनि गरे। राष्ट्रिय राजनीतिमा दलहरुबीचमा केही समस्या देखिए पनि प्रदेशमा यो समस्या नहोस भनेर सबै दलहरुबीचमा छलफल गर्दै उच्चस्तरिय सहमति गरेर अघि बढिने मुख्य मन्त्री राईको भनाइ छ। उनले सबै दलहरुलाई समझदारीमा आउन पनि आग्रह गरे।

‘संसदमा प्रस्तुत हुने कुनै पनि विषयलाई छरपस्ट बनाउँदै असामान्य ढंगबाट लगिने छैन,’ उनले भने, ‘सबै दलहरुबीचमा सहमति र समझदारी गरेर नै अगाडि बढिने भएका कारण अन्य दलले पनि जिम्मेवार भएरै प्रस्तुत हुन आवश्यक छ।’ कुनै कुरालाई असामान्य हिसावले प्रस्तुत गर्दा त्यसले सिंगो प्रदेशको विकास र समृद्धिमा बाध पुग्ने उनको ठम्याई छ। राईले सबै दलको चाहना प्रदेशको समृद्धि र विकास नै भएका कारण त्यही हिसावले सबैले सहयोग गर्नु पर्ने बताए।

उनले बजेट कार्यान्वयको चरणमा प्रदेश अघि बढिसकेको जानकारी दिंदै संघीय सरकारबाट हस्तान्तरण हुने संरचना र बजेटको अख्तियारी पठाउन ढिलाई हुँदा भने काममा केही बाधा परिरहेको बताए। राईले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको बताउँदै कृषिलाई आधुनिकीकरण गरेर सिंगो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने खालका योजना ल्याइने जानकारी दिए। उनले कृषि, वन, वातावरण र पर्यावरणको विकासका लागि माघ २६ गतेबाट नयाँ र महत्वपूर्ण अभियान सुरु गरिने बताए।

मुख्य मन्त्री राईले आगामी फागुन ३ गते पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले एक वर्ष भरीमा गरेर कारवाही र हाँसिल गरेका उपलब्धीका बारेमा जानकारी दिने पनि बताए।

अन्नपूर्णपोस्टबाट साभार

तपाईको प्रतिक्रिया