Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

काठमाडौँ, २० साउन २०८२ । भारतको उत्तर प्रदेशस्थित कन्नौजमा एक पतिले आफ्नी श्रीमतीको टोकेर नाक काटिदिएका छन्। श्रीमतीले आफूसँगै घर जान अस्वीकार गर्दा उनले टोकेर नाक काटेका हुन्।

सदर कोतवाली क्षेत्रको कालिनापुर्वा गाउँकी निवासी गुड्डी देवीले करिब १४ वर्षअघि काजी टोला इलाकाका पप्पुसँग विवाह गरेकी थिइन्। पप्पु लागूपदार्थको लतमा फसेका थिए र गुड्डी देवीसँग प्रायः झगडा गर्थे।

झगडाबाट थकित भएर गुड्डी कालिनापुर्वामा आफ्नो मामाघरमा बस्न थालिन्। उनले अरुको घरमा काम गरेर आफ्नो जीविकोपार्जन गर्थिन्। गुड्डी काम सकेर घर फर्किँदै गर्दा पप्पुले उनलाई बाटोमा रोकेर आफूसँगै आउन भने। गुड्डीले अस्वीकार गरेपछि उनी रिसाए।

रिसको आवेगमा पप्पुले गुड्डीलाई खेत नजिकैको झाडीमा घिसार्दै लगे। उनले घाँटी थिचेर कुटपिट गर्न थाले र दाँतले नाक टोके। उनले काटिएको नाक पनि आफूसँगै लगे। गम्भीर घाइते गुड्डी जिल्ला अस्पताल पुगिन्। प्राथमिक उपचारपछि उनलाई कानपुर रेफर गरियो। गुड्डीको उजुरीमा प्रहरीले आरोपी पति पप्पुविरुद्ध मुद्दा दर्ता गरी खोजी सुरु गरेको छ।

करिब तीन वर्षअघि पप्पुले बस स्टप नजिकै गुड्डीमाथि धेरै पटक चक्कु प्रहार गरेको बताइएको छ। त्यतिबेला पनि उनी पप्पुसँग रिसाएर आफ्नो मामाघर जाँदै थिइन्। त्यो आक्रमणपछि प्रहरीले पप्पुलाई जेल पठाएको थियो। तर जमानतमा छुटेपछि उनले नाक काटेको अपराध गरेका छन्।

तपाईको प्रतिक्रिया