Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

डण्डिराज घिमिरे
गौरादह, १८ माघ । झापाको गौरादह नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ को पौष मसान्त सम्मको अर्धवार्षीक यर्थाथ आम्दानी खर्चको समिक्षा गर्दै चालु खर्चको बजेट संसोधन सहित पास गरेको छ ।

यही माघ ११ गते सम्पन्न तेस्रो नगरसभाले अनुमानित चालु खर्च तर्फ ५३ लाख ७० हजार घटाएको आज शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । चालु आर्थिक बर्षको साउन महिनामा सम्पन्न दोस्रो नगरसभाले चालुखर्च तर्फ १२ करोड २६ लाख ९० हजार अनुमानित बजेट विनियोजन गरेकोमा तेस्रो नगरसभाले सो अनुमानित बजेट घटाएर ११ करोड ७३ लाख २० हजार बनाउदै संसोधन गरेको छ । गत आर्थिक वर्ष २०७४-०७५मा चालुखर्च तर्फ ६ करोड ७६ लाख १९ हजार ९८ मात्र यथार्थ खर्च भएको थियो ।

जनप्रतिनिधि पदाधिकारी तथा कर्मचारीहरु लक्षित चालु खर्चको अनुमानित बजेटमा इन्धन खर्च, भ्रमण खर्च, तालिम खर्च पदाधिकारी सेवा सुविधा लगायतको अनुत्पादक फजुल खर्चमा बढी बजेट बिनियोजन भएको विषयमा अत्यधिक बजेट बिनियोजन भएको भनेर सञ्चार माध्यमहरुले समाचार प्रकाशन गरेपछि र नगरबासीहरुले विरोध गरेपछि जनप्रतिनिधिहरु चालु खर्च तर्फको अनुमानित बजेट घटाउन बाध्य भएका हुन् ।

सामाजिक संजाल मार्फत समेत गौरादह नगरपालिकाको चालु खर्चको अस्वभाविक बजेट बिनियोजनको बिषयमा देश विदेशमा छरिएर रहेका गौरादहबासीले बजेट संसोधन गर्न सुझाब सहित नगरपालिकालाई निरन्तर निगरानी गरेका थिए ।

नगरबासीले बजेटको विषयमा खबरदारी गर्न भनेर राजकुमार दहाल संयोजक र अनिश कार्की सह संयोज रहेको ५१ सदस्यीय नगर स्तरीय शुसासनका लागि संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलन गरेको थियो । तेस्रो नगरसभाले संसोधन सहित पास गरेको बजेट, कार्यविधि, विधेयकहरुको बारेमा पत्रकार सम्मेलनमा नगर प्रमुख रोहित कुमार शाहले सञ्चारकर्मीहरु समक्ष जानकारी गराएका थिए ।

अनुमानित चालुखर्चमा तेस्रो नगरसभाबाट अन्य भत्ता शिर्षकमा ५लाख लाई घटाएर ३ लाख, इन्धन पदाधिकारी शिर्षकमा १४ लाख लाई घटाएर ७ लाख, अनुगमन मुल्यांकन खर्चलाई १५ लाखबाट घटाएर १० लाख, भ्रमण खर्चमा ३३ लाखलाई घटाएर २५ लाख, पारिश्रमीक कर्मचारी शिर्षकमा १ करोड ९३ लाखलाई घटाएर १ करोड ४० लाख, महंगी भत्ता १५ लाख २० हजारलाई घटाएर १२ लाख २० हजार, पदाधिकारी बैठक भत्तालाई ३५ लाख घटाएर ३० लाख ।

त्यसैगरी सार्वजनिक उपयोगिताको सेवा खर्चलाई ४ लाख लाई घटाएर २ लाख, मसलन्द तथा कार्यालय सामग्री ५२ लाख लाई घटाएर ४५ लाख, अन्य कार्यालय सञ्चालन खर्च ७ लाख लाई घटाएर ३ लाख, कर्मचारी, पदाधिकारी तालिम खर्च १५ लाख लाई घटाएर ११ लाख, निर्मित सार्बजनिक सम्पतिको मर्मत संभार खर्चलाई घटाएर ५ लाखबाट ३ लाख, पुस्तक तथा सामाग्रि खर्च खेलकुद सहित भनेर ४० लाखलाई घटाएर ३५ लाख, लोकसेवा तयारीमा १० लाखलाई घटाएर ५ लाख, उत्पादन सामाग्री सेवा खर्चमा १५ लाखबाट घटाएर १२ लाख, विशिष्ट व्याक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा ११ लाखलाई घटाएर ८ लाख, विविध खर्च शिर्षकमा ३५ लाखलाई घटाएर ३३ लाख, घर भाडा बपतलाई १४ लाखबाट घटाएर ९ लाख र सभा संचालन खर्चमा १५ लाखलाई घटाएर १२ लाख संसोधन गरिएको छ ।

केही शीर्षकहरुमा भने अनुमानित बजेट थपगरेर बढाइएको छ । पारिश्रमिक पदाधिकारी र पदाधिकारी अध्य सुबिधा शीर्षमा भने ४५ लाख २० हजारलाई बढाएर ४९ लाख बनाइएको छ । अन्य सहायता शीर्षकमा ४ लाखलाई बढाएर १५ लाख ५० हजार, मेशिनरी औजार मर्मत सम्भार तथा संचालनमा ४ लाख लाई बढाएर ६ लाख, करार सेवा शुल्कमा ३० लाखबाट बढाएर ७३ लाख, सिप विकास तथा जनचेतना तालिम गोष्ठीमा १ करोड ६७ लाखलाई बढाएर १ करोड ७८ लाख, सुत्केरी पोषण खर्चलाई ४ लाख बाट बढाएर २० लाख, लगायत विभिन्न शिर्षकमा वजेट संशोधन सहित पास गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

चालु खर्च तर्फ घटाइएको सो ५३ लाख ७० हजार पुँजिगत तर्फ थपिएको नगरपालिकाकी उपप्रमुख गीता भेट्वालले बताइन ।
तेस्रो नगरसभाले विपद्, जोखिम न्यूनिकरण तथा व्यवस्थापन, न्यायिक समितिले उजुरीको कार्वाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि, नगरपालिकाबाट बजार अनुगमन, स्थानिय कृषि व्यवसाय प्रर्वद्धन र एफ.एम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७५ पारित गरेको छ । नगरपालिकाको कार्यपालिकाबाट एकिकृत सम्पति कर व्यवस्थापन, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन, पदाधिकारीहरुको आचारसंहिता, घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र, अपाङ्ग व्यक्ति परिचय–पत्र वितरण, नगरपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण, कार्यपालिकाको बैठक सञ्चालन, समस्या दर्ता नियमावली र बाल अधिकार संरक्षण तथा सम्बद्र्धन कार्यविधि २०७५ स्वीकृत गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया