Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १८ माघ । माघ १४ गते मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् । प्रदर्शनीमा उत्रिएका व्यवसायीलाई प्रहरीले विराटनगर गेटमा रोकेपछि सडक अवरुद्ध गरेका हुन् ।

विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिपर व्यवसायीलाई प्रहरीले विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई सय टिपर सडकमा तेर्स्याएका हुन् । ।

माघ १४ गते सुन्दरहरैचामा टिपरको ठक्करबाट बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए । आगजनीको विरोधमा टिपर व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

प्रहरीले रोकेपछि व्यवसायीले सडकमै टिपर राखेर नारावाजी गरिरहेका छन् । प्रहरीले बल प्रयोग गरी विरोध प्रदर्शन गर्न रोकेकाले सडक अवरुद्ध पारेको पूर्वाञ्चल टिपर व्यवसायी संघका कोषाध्यक्ष सन्दीप सिंहले जानकारी दिए ।
अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया