Online Bichar
शनिबार, कार्तिक २३, २०८२ | Saturday, November 8, 2025

काठ्माडौं, २५ असार २०८२ । भारतको गुजरात राज्यको आनन्द र पाद्रालाई जोड्ने पुलको बीचको भाग भत्किँदा नौ जनाको मृत्यु भएको छ । अन्य नौ जनालाई उद्धार गरिएको गुजरातको बडोदराका प्रहरी अधिकारी रोहन आनन्दले जानकारी दिए ।

“अझै दुई ट्रक पानीमा छन् र तिनलाई बाहिर निकालेपछि मात्र थाहा होला ती ट्रकमा कोही जीवित वा मृत व्यक्ति अड्किएको छ कि छैन ।”

बीबीसी गुजरातीका अनुसार, बुधबार बिहान बडोदरा जिल्लाको बाहिरी क्षेत्रमा मही नदीमा बनेको पुल भत्किएका कारण धेरै सवारी साधन नदीमा खसेका थिए ।

घटनाको सूचना प्राप्त भएपछि स्थानीय अधिकारीहरूले राहत र उद्धार कार्य थालेका छन् ।

सडक र भवन विभागका मुख्य अभियन्ता सीपी पटेलका अनुसार, पुल सन् १९८५ मा खोलिएको थियो । पुल दुर्घटना कसरी भयो भन्ने प्रश्नको जवाफमा उनले जाँच भइरहेको र पूरा भएपछि मात्र थाहा हुने बताए ।

“हामी सबै पुलहरूको मनसुनअघि र मनसुनपछि निरीक्षण गर्छौं । रेकर्ड हेरेपछि मात्र यो पुलको अवस्था के थियो भन्ने थाहा हुनेछ,” उनले भने ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्रीले आफ्नो एक्स अकाउन्टमा गुजरातको बडोदरा जिल्लामा पुल भत्किएर भएको जनधनको क्षति अत्यन्त दुस्खद रहेको बताएका छन् ।

उनले अगाडि लेखेका छन्, “प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति राशि प्रदान गरिने र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिइनेछ ।”बीबीसी हिन्दीबाट ।

 

तपाईको प्रतिक्रिया