Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

काठमाडौं, २१ असार २०८२ । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । अरनिको, कोसी राजमार्गलगायत सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका–४, वरुण खोलामा गएको जेठ ६ गतेदेखि कोसी राजमार्ग अवरुद्ध छ । बर्खा अवधिभर त्यहाँ यातायातका साधन सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ ।

वरुण खोलामा आएको बाढीले त्यहाँको ह्युमपाइप बगाएको थियो । सोही कारण खाँदबारीदेखि थुमसुर जाने कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यता, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बनेपा–नाला–भक्तपुर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । शनिबार ९असार २१० बिहानदेखि त्यहाँ सडक अवरुद्ध भएको हो । त्यहाँ पुण्यमाता खोलामाथिको पुल भासिएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । शुक्रबार ९असार २००देखि त्यहाँ सडक अवरुद्ध भएको हो ।

यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, छलघाटमा बाढीका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छ । यही असार ४ गतेदेखि त्यहाँ बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, रिजिगारमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । यही असार ९ गतेदेखि त्यहाँ सडक अवरुद्ध छ ।

जाजरकोटको छेडागाड नगरपालिका–३, दखेरीभीरस्थित सडकमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । शनिबार बिहानदेखि त्यहाँ बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बाजुराको बडीमालिका नगरपालिका–७, ढम्कने भासुपातलमा पहिरो खस्दा मार्तडी–कोल्टी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध छ । बिहीबार ९असार १९०देखि त्यहाँ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो २ बजेसम्मको अपडेटमा मुख्य राजमार्गअन्तर्गत केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया