Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

सप्तरी, १६ माघ । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ ।

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ । मृतककी आमासमेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको र उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटक लागेको दागसमेत देखिएकाले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

तुरुन्तलालले हत्या गरेको अस्वीकार गरे पनि सामान्य कुटपिट गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि आफूहरूले सरितालाई कुटपिट गरेको बुबा बडहीले स्वीकारेका छन् ।

शव परीक्षणका लागि मङ्गलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । शव परीक्षण रिपोर्ट र अन्य आवश्यक अनुसन्धानपछि सत्यतथ्य नजिक पुग्न सकिने बताउँदै प्रहरी निरीक्षक श्रेष्ठले प्रहरी प्रतिवेदनकै आधारमा समेत कारवाही प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।
१६ माघ सप्तरी । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ ।

रासस

तपाईको प्रतिक्रिया