Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १५ माघ । एकदिवसीय क्रिकेटमा नेपालले हासिल गरेको सफलता आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले यसलाई ‘ऐतिहासिक सफलता’को संज्ञा दिँदै चर्चा–परिचर्चा गरेका छन् ।

त्यस्तै, मनाङेको सपथ, अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थालगायतका विषय पनि आजका पत्रपत्रिकाहरुको रोजाइमा परेको छ । केहीले खोजमुलक सामग्री पस्केका छन् । नयाँ पत्रिकाले नयाँ पत्रिकाले दलितमाथिको विद्यमान थिचोमिचो र अन्यायमाथि लेखेको छ भने अन्नपूर्णमा नापी कार्यालय ललितपुरभित्रको बेथितिको चित्र छ ।

नयाँ पत्रिकाले ‘अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाइ वर्षदेखि अस्पतालमा’ शीर्षक दिएर दलितमाथिका पछिल्ला थिचोमिचोहरुको विवरण छापेको छ । अन्तरजातीय विवाह गर्ने काभ्रे पाँचखाल– ६, होक्सेका युवा अजित मिजार झुण्डिएको अवस्थामा फेला परे पनि शंकास्पद रहेको उल्लेख गरेको छ । धादिङको कुमपुर गाविसमा झुण्डिएको अवस्थामा भेटिएको उनको सनाखत नगरी प्रहरीले लास गाडेको उल्लेख गर्दै नयाँ पत्रिकाले यसले घटनालाई थप रहस्मय बनाएको निष्कर्ष निकालेको छ । दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने परिवारको जिरहपछि उनको शव डेढ वर्षदेखि अस्पतालमा अलपत्र परेको समाचारमा उल्लेख छ ।

यही रिपोर्टमा नयाँ पत्रिकाले पानी छोएको निहुँमा जनप्रतिनिधिको हत्या भएको विवरण पनि समेटेको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका– ९ की वडा सदस्य मना सार्कीको कुटपिट गरी हत्या गरिएको हो । नेकपाबाट वडा सदस्यमा निर्वाचिन उनलाई धारामा पानी छोइदिएको निहुँमा स्थानीय राजिन्द्रा शाही र सिर्जना शाहीले कुटपिट गरी हत्या गरेका हुन् । उता सर्लाहीको विष्णु गाउँपालिकामा भत्ता लिन आएका दलितले पानी छोइदिएको भन्दै जनप्रतिनिधिले कुटपिट गरेका छन् ।

दलितमाथिको ज्यादतिको श्रृंखला लामो छ । दलित महिलासँग बिहे गर्न हिच्किचाउनेहरु एक्लै भेटे बलात्कार गर्न तम्सिने गरेका छन् । कैलाली स्थायी ठेगाना भएकी १९ वर्षीया माया विकको आफ्नै सहकर्मीबाट सामूहिक बलात्कारपछि हत्या भएको छ । हत्याराहरुलाई प्रहरीले पक्राउ गरे पनि परिवार कारबाही हुनेमा विश्वस्त नरहेको समाचारमा उल्लेख छ ।

हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट कर्जा लिएर ठगी भएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । यो प्रकरणमा झण्डै तीन करोड अनियमितता गर्ने बैंकका कर्मचारीसहित आठजना पक्राउ परेका छन् ।

सुन्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा अनियमितता गर्ने बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ प्रक्रिया अघि बढाएको समाचारमा उल्लेख छ ।

एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले पाएको सफलतामाथि मुख्य समाचार लेखेको अन्नपूर्णले गोविन्द केसीको स्वास्थ्यबारे पनि चासो राखेको छ । अन्नपूर्णका अनुसार, केसी बोलदै नसक्ने अवस्थामा पुगेका छन् ।

नापी कार्यालय ललितपुरका बेथितिबारेको एक रिपोर्ट पनि अन्नपूर्णमा छापिएको छ । समाचार अनुसार, सेवाग्राहीले सेवा लिन कागजमा घुस पोको पारेर कर्मचारीलाई दिनुपर्छ ।

एकदिवसीय क्रिकेटमा ऐतिहासिक सफलतापछि रमाएका नेपाली क्रिकेट टोलीको तस्वीर छापेको कान्तिपुरले चिकित्सिा शिक्षा विधेयकका अनेक स्वार्थमध्ये सीटीईभीटी टिकाउने पनि एक रहेको लेखेको छ ।

विभिन्न विकास आयोजनाका नाममा ठेकेदारहरुले पेश्कीस्वरुप राज्यबाट लिएको २४ अर्ब रुपैयाँ जोखिममा परेको राजधानीले लेखेको छ । नागरिकले सामाजिक सुरक्षा योजनाको सूचीकरण सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया