Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

बिर्तामोड, ११ माघ । खोला उत्खनन्को विरोध गर्दै आएका झापाको अर्जुनधारा १ का स्थानीयवासीले बिहिबार वडा कार्यालयमा ताला लगाएका छन् । आफुहरुको भावना बिपरित स्थानीय तहको निर्देशनमा ठेकेदार संस्थाले उत्खनन् कार्य शुरु गरेको भन्दै वडा कार्यालयमा ताला लगाइएको हो ।

बिरिङ खोलामा उत्खननका लागि ठेकेदार संस्थाले बुधबारदेखि स्काभेटर प्रयोग गर्न शुरु गरेको थियो । स्काभेटर प्रयोग गरेर उत्खनन गर्दा पानीको सतह सुक्न थालेको भन्दै बिरोधमा रहेका स्थानीय किसानले वडा कार्यालयमा ताला लगाएका छन् ।

नेपाली काङग्रेस तथा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बुधबारनै वडामा ज्ञापनपत्र बुझाउँदै उत्खनन कार्य तत्काल रोक्नुपर्ने माग गरेका थिए । बिहिबार नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) ले ज्ञापनपत्र बुझाएर वडा कार्यालयमा ताला लगाएको हो । नेकपाको बैठकले नै उत्खनन् कार्य नरोके कडा प्रतिकार गर्ने निर्णय गरेको जनाइएको छ ।

नेकपाको बैठकले खोला उत्खनन गर्न रोक लगाउने निर्णय गरेको सचिब बिजेन्द्र येक्तेनले बताए । उनले नेकपाबाटै उम्मेद्वार भएर बिजयी भएका मेयर, उपमेयर तथा वडाध्यक्षले मतदाताको भावना कुल्चिएको आरोप लगाए । ‘पहिलो पटकमा स्थानीय तहको ध्यानाकर्षणका लागि ताला लगाएका हौं, नेकपाका अर्का स्थानीय नेताले भने(‘यति गर्दा पनि टेरेनन भने शसक्त भौतिक प्रतिकार गर्छाैं, त्यसबाट आउने परिणामको जिम्मा स्थानीय तहले लिनु पर्छ ।’

वडाको काम गरिरहेको अध्यक्ष गजाधर खतिवडालाई कार्यालय बाहिर निकालेर तालाबन्धी गरिएको नेकपाका स्थानीय नेता नयनबहादुर अधिकारीले बताए । उनले जनप्रतिनिधीले स्थानीय जनताको भावना बिपरित खोला उत्खनन कार्यलाई सहयोग गरेको भन्दै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्धी लगाइएको जानकारी दिए । उनले उत्खनन् कार्य बन्द नहुञ्जेल तालाबन्धी गरिने जानकारी दिएका छन् ।

‘चुरे क्षेत्रमा पर्ने बिरिङ, टाङटिङ, नेते, फुलमति लगायतका खोलामा विगतका वर्षहरुमा गरिएको चरम दोहनका कारण त्यस आसपासका जमिन मरुभुमीमा परिणत भएका छन्, ज्ञापनपत्रमा भनिएको छ, ‘जनप्रतिनिधीलाई त्यो कुरा थाहा हुँदा पनि जबरजस्ती उत्खनन भएकोप्रति हामीलाई आश्चर्य लागेको छ ।’ जनप्रतिनिधीले जनताको भावना बिपरित खोला उत्खनन गर्ने निर्णय गरेको स्थानीयको भनाई छ ।

बिरिङ खोलामा बर्षेनी हुने दोहनका कारण अर्जुनधारा १, ७, ८, ४, तथा बुद्धशान्ति २ का खोलाधारका जमिनमा पानी उठ्न छोडेको छ । खोलाको पानीले सिचाइ गरेर खेति गर्दै आएका स्थानीय वासिन्दाले जमिन बाँझो राख्नुपरेको गुनासो गरेका छन् । कतिपय पिउने पानीको श्रोत समेत सुक्न थालेको स्थानीयले बताएका छन् ।

अर्जुनधारा वडा नम्बर १ का अध्यक्ष गजाधर खतिवडाले खोलामा स्काभेटर प्रयोग नगर्न भनेको भएपनि ठेकेदार संस्थाले अटेर गरेपछि समस्या उत्पन्न भएको बताए ।

खतिवडाले भने(‘छलफलपछि स्काभेटर प्रयोग गर्ने वा नगर्ने निर्णय गरिन्छ भन्दा भन्दै उहाँहरुले शुरु गर्नु भएछ ।’ उनले खोला उत्खनन आफ्नो काबु बाहिरको निर्णय भएको भन्दै नगरपालिकाको कार्यपालिकाबाट यसबारेमा निर्णय गर्ने जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाले स्थानीयको बिरोधको बावजुद पनि यसवर्षको लागि बिरिङ, टाङटिङ, नेते, गोयाङ खोलाको १९ स्थानबाट २ लाख ४० हजार ६ सय घनमिटर सामग्री संकलनका लागि एसयुएस कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । निर्माण कम्पनिले नगरपालिकासँगको सहमतिका आधारमा उत्खनन एवम् सङ्कलन गर्न शुरु गरेको जनाएको छ ।

ब्लाष्टखबरबाट साभार

तपाईको प्रतिक्रिया