Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

काठमाडौं, १६ जेठ २०८२ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको हो । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो।

उनी २०६६ असार १५ देखि २०६७ फागुन अन्तिमसम्म संस्थानको कार्यकारी अध्यक्ष रहेका थिए। यसैगरी,२०६२ असोज ८ देखि २०६२ पुस १२ सम्म र २०६४ जेठ ३० देखि २०६५ भदौ १६ गतेसम्म गोरखापत्र दैनिकको कायम मुकायम प्रधान सम्पादक थिए।

पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उनको पूरा नाम विजयकुमार चालिसे हो । बेलायतबाट पत्रकारितामा डिप्लोमा गरेका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पत्रकारिताको पुस्तक पनि प्रकाशन गरेका छन् । गोरखापत्र दैनिक १२५ वर्ष प्रवेशका अवसरमा गएको वैशाख २४ गते आयोजित विशेष समारोहमा उनलाई ५० हजार राशिको रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र विजय चालिसे बाल साहित्यमा सक्रिय एक समर्पित स्रष्टा हुन्।

वि.सं. २००८ असार २२ गते शुक्रबार जोरपार्टी आरुबारी काठमाडौँमा जन्मिएका चालिसे लामो समयदेखि कथाहरू,उपन्यासहरू र नाटकहरूमार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर कलम चलाउँदै आएका थिए।

बालकथा लेखनमा उनको उल्लेखनीय योगदान छ। ‘हराएको मूर्ति’ (२०५६), ‘किसानबाट शिक्षा’ (२०५८) र ‘चट्याङ्किको बाँदर’ (२०५९) नामक कथा सङ्ग्रहमार्फत उहाँले बालबालिकालाई जीवनका विविध पक्षहरू सरल भाषामा चिनाउने प्रयत्न गर्नुभएको छ। छोटा वाक्य र संवादको प्रयोग गर्दै उहाँले स्वाभाविक र रमाइलो शैलीमा कथा प्रस्तुत गर्नुहुन्छ। यी कथाहरूमा प्रत्यक्ष सल्लाह नभए पनि गहिरा सन्देशहरू परोक्ष रूपमा समेटिएका हुन्छन्।

चालिसेका उपन्यासहरू पनि ज्ञानवर्धक र वैज्ञानिक दृष्टिकोणबाट महत्त्वपूर्ण छन्। ‘मंगल ग्रहका विज्ञान’ (२०६०) उपन्यासमा उहाँले सौर्यमण्डल तथा अन्तरिक्षसम्बन्धी विभिन्न वैज्ञानिक तथ्य र खोजहरू प्रस्तुत गरेका छन्। यस्तै,‘मुस्ताङको गुफा’ (२०६१) मा नेपाली प्राकृतिक सम्पदाबारे जानकारी दिँदै चालिसेले बालबालिकाले पनि बुद्धिमत्ता र सतर्कताका साथ गलत गतिविधिमा संलग्न वयस्कहरूमाथि विजय प्राप्त गर्न सक्ने सन्देश दिएका छन्।

विसं। २०५२ मा प्रकाशित ‘बादलका बुट्टाहरू’नामक नाटक सङ्ग्रहमा समावेश चार नाटकमध्ये पहिलो दुई नाटकले समयमै बालबालिकाको प्रतिभा पहिचान गरी फुल्न दिएको खण्डमा उनीहरू सक्षम व्यक्तित्व बन्न सक्छन् भन्ने सन्देश दिन्छन्।

 

तपाईको प्रतिक्रिया