Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ८ माघ । श्रमजीवी पत्रकारहरुलाई न्युनतम पारिश्रमिक नदिने सञ्चारगृह कारबाहीमा पर्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्ना कर्मचारी तथा पत्रकारहरुलाई तोकिएको न्युनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारी सेवासुविधा उपभोग गर्नबाट वञ्चित गर्नू भन्दै सम्बद्ध निकायहरुलाई सोमबार पत्राचार गरेको हो ।

मन्त्रालयले सूचना विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई छुट्टाछुट्टै पत्र पठाएर न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चारगृह तथा प्रतिष्ठानहरुको विवरण माग गरेको छ ।

सरकारले गत कात्तिक १ देखि लागू हुनेगरी पत्रकारहरुको न्युनतम तलब निर्धारण गरेको थियो । जसअनुसार राष्ट्रियस्तरका सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजार ३ सय प्रतिमहिना (भत्ताबाहेक) निर्धारण गरिएको छ ।

तर अधिकांश सञ्चारगृहले अहिले पनि न्युनतम तलब नदिइरहेको गुनासो बढेपछि मन्त्रालयले उनीहरुको विवरण मागेको हो । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नयाँ लागू भएको न्युनतम पारिश्रमिक सम्बन्धित सञ्चारगृहहरुले आफ्ना कर्मचारी तथा पत्रकारहरुलाई दिएरनदिएको जानकारीसहितको विवरण मागेका हुन् ।

मन्त्री बाँस्कोटाले यससम्बन्धी तत्काल अनुगमन थाल्न न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई निर्देशनसमेत दिएका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले निर्धारण गरेको नयाँ पारिश्रमिकअनुसार क वर्गका राष्ट्रिय सञ्चारगृह अन्तरगत पूरा समय कार्यरत पत्रकारको आधारभूत तलब २४ हजार ३ सय रुपैयाँ हुनुपर्ने छ । साथै यस्तो वर्गका सञ्चारगृहमा कार्यरत कर्मचारीको तलब पनि न्युतम १८ हजार हुनुपर्नेछ । यीबाहेक अन्य वर्गका सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकारको आधारभूत तलब १७ हजार तथा कर्मचारीको न्युनतम तलब १५ हजार दिएको हुनुपर्नेछ ।

मन्त्रीको निर्देशनअनुसार अनुगमन भई न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चारगृहलाई कारबाही हुने हो भने उनीहरु सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र पाउन तथा प्रेस काउन्सिलबाट हुने अन्य सेवासुविधा पाउनबाट वञ्चित हुनेछन् । साथै न्युनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चारगृहरमिडियाहरुले सरकारी विज्ञापन समेत पाउने छैनन् ।

मन्त्रिपरिषदको गत असोज २१ गतेको बैठकले कार्तिक १ देखि लागू हुनेगरी श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो । सोही अनुसार नयाँ पारिश्रमिक निर्धारण गरिएको हो ।

न्यूज२४बाट

तपाईको प्रतिक्रिया