Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

काठमाडौं, ८ माघ । आज देशभर बदली हुने र अधिकांश स्थानमा पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । काठमाडौं उपत्यकामा अहिले बादल लागेकाले चिसो महसुस भइरहेको छ । यो क्रम बढ्दै जाने र राति पानी पर्नसक्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

उनले अनलाइनखबरसँग भनिन्, ‘पोखरादेखि पश्चिम अधिकांश स्थानमा पूर्ण बदली हुन्छ, केही स्थानहरुमा वर्षा हुन्छ, उच्च हिमाली भूभागमा हिमपात पनि हुन्छ । काठमाडौंदेखि पूर्वको भूभागमा बदली धेरै हुन्छ, तर आज दिउँसो वर्षाको खासै सम्भावना छैन । राति चाहिँ काठमाडौं उपत्यकामा पनि वर्षा हुनसक्छ ।’

अहिले पनि पश्चिमका केही स्थानहरुमा पानी पर्ने र उच्च पहाडी भागमा हिमपात जारी छ । मौसमविद कँडेलले भनिन्, ‘कैलाली र त्यस आसपासमा गड्याङ्गगुडुङ्गसहित पानी परिरहेको छ । अहिले काठमाडौंदेखि पश्चिम अधिकांश उच्च पहाडी भूभागमा हिमपात भइरहेको छ । आज दिनभरी डिस्टर्ब नै हुन्छ ।’

मौसमविद गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण बदली हुने, पानी पर्ने र हिमपात हुने क्रम बढेको हो । पर्सि बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै जाने उनले जानकारी दिइन् ।

काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको चिसो महसुस भइरहेको छ । बिहान साढे ६ बजे गरेको मापन अनुसार काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस छ ।

तपाईको प्रतिक्रिया