Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाण्डौ, ८ माघ । वैदेशिक रोजगार विभागले मलेसियाबाट कलिङ भिसा आइसकेका कामदारको विवरण मागेको छ । नेपाल र मलेसियाबीच श्रम समझदारी भएको लामो समयसम्म पनि कामदारलाई जान नदिएको भन्दै म्यानपावर व्यवसायीले आन्दोलन गर्ने बताइरहेका बेला विभागले कलिङ भिसा आइसकेकाको विवरण उपलब्ध गराउन भनेको हो ।

विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले जारी गर्नुभएको सूचनामा कामदार र म्यानपावर व्यवसायीले कलिङ भिसा आइसकेको व्यक्तिलाई जान दिन बारम्बार आग्रह गरेकोमा विभागको ध्यानाकर्षण भएको भन्दै १५ दिनभित्र विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

विवरणमा कामदारको नाम, ठेगाना, राहदानी नम्बर, सम्पर्क नम्बर, ईमेल ठेगाना, काम गर्न जाने कम्पनीको नाम र ठेगाना, कलिङ भिसा प्राप्त गरेको मिति र कलिङ भिसाको म्याद उल्लेख गर्नुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

म्यानपावर व्यवसायीले भने सरकारले २० जना कामदारलाई कुनै संयन्त्र नबनाई श्रम स्वीकृति दिएको भन्दै विरोध गरेका छन् । विभागले भने यस विषयमा अहिले नै केही भन्न नसकिने बताएको छ ।

म्यानपावर व्यवसायीले कारबाही गरिएकै भीएलएन र वान स्टेप सेन्टरबाटै प्रक्रिया गर्न लागिएको भन्दै विरोध जनाएका छन् । यस विषयमा सोमबार भेला गरेर धारणा सार्वजनिक गर्ने वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ महिनाअघि मलेसियाँसग गरेको समझदारीमै कलिङ भिसा आइसकेका कामदारलाई तत्काल मलेसिया पठाउने समझदारी गरेको थियो ।

तर, श्रममन्त्री गोकर्ण बिष्टले कामदार ठगी गर्ने बिचौलिया संयन्त्रका रुपमा रहेको भीएलएनमार्फत कलिङ भिसा आएकालाई पनि अन्तिम श्रम स्वीकति नदिने अडान लिएपछि प्रक्रिया सुरु हुन सकेको थिएन । तर, अचानक विभागले कलिङ भिसा आएकाहरुलाई श्रम स्वीकृति दिन भन्दै विवरण मागेको छ ।

अहिले झण्डै एक हजार जनाको कलिङ भिसा आए पनि जान नपाएर पर्खिरहेका छन् । सरकारले विभिन्न बहानामा कामदार ठगिएको भन्दै मलेसियमा जान श्रम स्वीकृति रोकेको थियो । मलेसियाको रोजगारी खुल्ने नखुल्ने अन्योल भइरहेका बेला विभागले कलिङ भिसा आएकाको मात्रै विवरण मागेपछि सबैका लागि मलेसियाको रोजगारी कहिले खुल्छ भन्नेबारेको अन्योल चाहिँ कायमै छ ।

उज्यालोअनलाइनबाट

तपाईको प्रतिक्रिया