Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शशिधर पराजुली

विराटनगर, ७ माघ । विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्म ३० किलोमिटर दूरीमा मोनोरेल सञ्चालनका लागि काम गरिरहेको कम्पनीले ७० प्रतिशत स्रोत जुटाएको छ । मोनोरेल सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको विराट मोनोरेल इन्टरनेसनल प्रा.लि.ले करिब ७० प्रतिशत स्रोत सुनिश्चित गरिसकेको जनाएको छ । उक्त कम्पनी सम्भाव्यता अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको तयारीमा छ । कम्पनीका अध्यक्ष परमानन्द मेहेताले त्यसअघि नै परियोजनाका लागि आवश्यक स्रोत जुटाएको र स्रोतको कुनै समस्या नरहेको जानकारी दिनुभएको छ । इटहरी–विराटनगर मोनोरेल निर्माण गर्न करिब ३० अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
कम्पनीले झण्डै २१ अर्ब रुपियाँ लगानीको स्रोत करिब निश्चित गरिसकेको जनाएको छ । विदेशममा रहेका नेपाली उद्योगी तथा अन्य वैदेशिक लगानिकर्तासमेत लगानी गर्न इच्छुक देखिएको र अधिकांशसँग कम्पनीले समझदारीसमेत गरिसकेको अध्यक्ष मेहेताले जानकारी दिनुभयो । फेबु्रअरीभित्र लगानीकर्ताहरूसँग सम्झौता गर्ने तयारीमा कम्पनी जुटेको अध्यक्ष मेहेताले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘हामीसँग स्रोतको समस्या छैन, २१ अर्ब रुपियाँ लगानी करिब सुनिश्चित भइसकेको छ । एक महिनादेखि ४५ दिनभित्रमा अन्तिम सम्झौता गर्ने तयारी गरिरहेका छौँ । ’’
भारतको जोगवनीसँग सिमाना जोडिएको रानीदेखि इटहरीसम्म ३० किलोमिटर दूरीमा पहिलो चरणमा मोनोरेल सञ्चालन गर्ने कम्पनीको योजना छ । त्यसका लागि प्रदेश सरकार र त्यसबीचमा पर्ने चारओटै स्थानीय तहले स्वीकृतिसमेत दिइसकेका छन् । मोनोरेल सञ्चालनका लागि इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, बुढीगङ्गा गाउँपालिका र विराटनगर महानगरपालिकाले स्वीकृति दिएका हुन् ।

ती स्थानीय तहहरूसँग लगानीका लागि पनि छलफल हुने अध्यक्ष मेहेताले बताउनुभयो । प्रदेश सरकारले पनि प्रारम्भिक अध्ययनका लागि अनुमति दिएको छ भने डीपीआर तयार गरेर कामलाई अघि बढाउन निरन्तर चासो दिँदै आएको छ । डीपीआर तयारीअघि प्रदेश सरकारलाई परियोजनाको अवधारणा प्रस्तुत गर्ने तयारीमा कम्पनी लागिरहेको छ ।

माघ तेस्रो साताभित्रै अवधारणा प्रस्तुत गरेर प्रदेश सरकार, स्थानीय तहहरू र निजी क्षेत्रको संयुक्त लगानीमा परियोजना अघि बढाउने गरी कम्पनीले छलफल अघि बढाएको छ । स्थानीय तहहरू र प्रदेश सरकारले लगानी नगरे निजी क्षेत्र एक्लै अघि बढ्ने तयारीमा कम्पनी रहेको अध्यक्ष मेहेताले बताउनुभयो ।
विराट मोनोरेल इन्टरनेसनल प्रा. लि. मा यतिबेला १६ जना नेपाली लगानीकर्ता छन् । कम्पनीमा लगानिकर्ताहरू निरन्तर थप गर्दै लगिने अध्यक्ष मेहेताले बताउनुभयो ।

मोनोरेल सञ्चालनका लागि आवश्यक वैदेशिक स्रोत जुटाउन कम्पनीले मेनेजिङ डाइरेक्टर काजीमान आत्रेय र उपाध्यक्ष अजयकुमार सत्याललाई प्रमुख जिम्मेवारी दिएको छ । दुवै जनाको पहलबाट स्रोत जुटिरहेको र सरकारबाट निर्माणको अनुमति पाए लगत्तै काम शुरु गर्नसक्ने अवस्थामा कम्पनी रहेको बताइएको छ ।

सरकारको अनुमतिसँगै डीपीआर तयार गर्न अघि बढ्ने र केही महिनाभित्रै डीपीआर बनाइसक्ने अध्यक्ष मेहेताले बताउनुभयो । डीपीआर तयार गर्न करिब ७ करोड रुपियाँ खर्च हुनेछ ।
नेपालमा मोनोरेल नयाँ परियोजना भएकोले अनुभवी टेक्निसियन नभएको र विदेशबाट झिकाउनुपर्ने हुँदा डीपीआरमा खर्च बढी आउने अध्यक्ष मेहेताले बताउनुभयो । मोनोरेल निर्माणका लागि अनुमति दिएको खण्डमा ३ वर्षभित्र मोनोरेल सञ्चालन गर्नसक्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया