Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, २६ वैशाख २०८२ । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिइन् ।

सोफिया कुरेशीले भनिन्, ‘पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निसाना बनाएको थियो ।’

उनले पाकिस्तानतर्फबाट ३०० देखि ४०० ड्रोनहरू छोडिएको जानकारी दिइन् । यद्यपि, पाकिस्तानका रक्षामन्त्रीले आक्रमणको अस्वीकार गरे ।

कर्नेल सोफियाले भनिन्, ‘लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००–४०० ड्रोनहरूले घुसपैठ गर्ने प्रयास गरे । भारतीय सुरक्षा बलले काइनेटिक र गैर–काइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोनहरूलाई खसाले ।’

‘यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी संकलन गर्नु थियो । ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ । प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको संकेत गर्छ,’ उनले थप भनिन् ।

पाकिस्तानतर्फबाट सीमामा भारी गोलाबारी भइरहेको उनले बताइन् । उनले भनिन्, ‘पाकिस्तानतर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ । यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन् । भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ ।’

यद्यपि, कर्नेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिएनन् ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बिहीबार राति बीबीसीलाई भने, ‘हामी यसलाई अस्वीकार गर्छौँ, हामीले हालसम्म केही गरेका छैनौँ । जब पाकिस्तानले आक्रमण गर्छ, सबैले थाहा पाउनेछन् ।’

 

तपाईको प्रतिक्रिया