Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ६ माघ । चीनले दक्ष रेल्वे इन्जिनियर उत्पादन गर्न नेपाललाई थप सहयोग गर्ने भएको छ । पहिलो चरणमा चार जना इन्जिनियरलाई रेलमा तालिम दिइरहेको चीले थप आधा दर्जनभन्दा बढी इन्जिनियरलाई तालिमका लागि बोलाएको छ ।

रेल विभाग अन्तरगतका थप इन्जिनियरहरुलाई चीनले तालिम दिन चीनले तत्परता देखाएको रेल विभागमा महानिर्देशक बलराम मिश्रले बताए । नेपाली इन्जिनियरलाई आधारभूतसहित आधुनिक प्रविधिका सबै पाटोबारे तालिम दिन चीनले बोलाएपछि पठाउन लागिएको छ ।

‘हाम्रा इन्जिनियरहरु रेलका प्राविधिक पाटोमा अभ्यस्त हुन बाँकी छ । त्यसैले यस्ता तालिम महत्वपूर्ण हुन्छ,’ मिश्रले भने, ‘रेलमार्गहरु अगाडि बढाउन सजिलो हुन्छ ।’

नेपाल र चीनबीच रेलमार्ग निर्माण गर्न डीपीआर निर्माणको मोडालिटी टुंगिन बाँकी छ । तर, चीनले नेपालमै दक्ष इन्जिनियर उत्पादनमा सघाउ पुर्‍याउने उद्देश्यले रेल्वे इन्जिनियरलाई उतै लगेर तालिम दिँदैछ ।

नेपालसँग जनकपुर-जयनगर ‘न्यारो गेज’ बाहेक रेलमार्ग निर्माणको सञ्चालनको कुनै अनुभव छैन । सोही कारण चीनले नेपाली इन्जिनियरहरुलाई दक्ष बनाउने गरी तालिम दिन लागेको हो । यसअघि गएर चीनमा तालिम लिइरहेका बाहेक थप इन्जिनियरलाई चीन पठाइँदैछ ।

नेपालले केरुङ-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गरिदिन चीन सरकारलाई आग्रह गरिसकेको छ ।

केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययनले चीन आफैंले गरेको छ, जुन रिपोर्ट चिनियाँ पक्षले नेपाललाई दिइसक्यो । प्रारम्भिक रिपोर्टअनुसार यो रेलमार्ग बनाउन साढे २ खर्ब भन्दा बढी लाग्नेछ भने करिव ७३ किलोमिटर लामो रेलमार्ग बनाउन ९ वर्ष लाग्नेछ । रेलमार्गमा ९८.५ प्रतिशत पुल र टेल हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

अब प्रारम्भिक अध्ययनको रिपोर्टका आधारमा डीपीआर गर्नुपर्ने हुन्छ । सरकारी अधिकारीहरुका अनुसार यसको लागत झण्डै एक अर्ब हुन आउँछ ।

नेपाली पक्षले आफूहरुसँग रेलमार्गबारे खासै ज्ञान र प्रविधि पनि नभएको भन्दै चीन सरकारले नै सम्भाब्यता अध्ययन गरोस् भन्ने चाहेको बताएका थिए । यसमा चिनियाँ पक्षले केही भनेको छैन ।

तर, डीपीआरका क्रममा आउन सक्ने समस्याबारे चासो राखेकाले सकारात्मक देखिएको नेपाली अधिकारीहरु बताउँछन् ।

एक अधिकारीका अनुसार चिनियाँ पक्षले सम्भाब्यता अध्ययनका लागि नेपाल सरकारले उचित वतावरण तयार गरेर सहजिकरण गर्नुपर्ने बताएको छ । यो खण्डमा अध्ययन गर्न नै कठीन रहेको भन्दै उनीहरुले त्यसका लागि नेपाल सरकारले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन लगायतका कानुनी प्रक्रियाहरुको दायित्व नेपालकै हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

साथै रेलमार्गमा पर्ने शिवपुरी राष्ट्रिय निकुञ्जबारे पनि प्रष्ट हुन आग्रह गरेका छन् । जवकी नेपालले राष्ट्रिय निकुञ्जमा विकास निर्माणका काम गर्न सरकारले अनुमति दिने गरेको छैन । यस्तै टोलीले सम्भाव्यता अध्ययनका क्रममा चाहिने अत्याधुनिक सामग्रीको प्रवन्धन र फिल्डमा क्याम्प खडा गर्न जग्गा प्राप्ति लगायतका प्रक्रियाबारे पनि चिनियाँ पक्षले चासो राखेका छन् ।

नेपाल सरकारले केरुङ-काठमाडौं रेलमार्गलाई उच्च प्राथमिकतामा राखेको छ तर, सरकार आफैं रेलमार्ग निर्माणका लागि लगानी गर्न सक्ने अवस्थामा छैन । नेपालले डीपीआर मात्र होइन, निर्माण समेत सकेसम्म अनुदानमा नभए सहुलियत पूर्णमा ऋणमा बनाउने सोच बनाएको छ ।

तपाईको प्रतिक्रिया