Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौं, ३ वैशाख २०८२ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ। काठमाडौंमा आयोजित एक अन्तर्क्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदबाट विद्यालय शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने बताएका हुन्।

उनले विधेयक प्रतिनिधिसभाबाट पारित भए राष्ट्रियसभाबाट पारित हुन र राष्ट्रपतिबाट प्रमाणीकरण हुन समय नलाग्ने जिकिर गरे। त्यसका लागि मिति तोकेर नै विधेयकको प्रक्रियालाई अघि बढाउनुपर्ने उनको भनाइ छ।

अध्यक्ष सुवेदीले आन्दोलन निर्णायक नभएसम्म कुनै पनि शिक्षक विद्यालय नफर्कने स्पष्ट पारे। आन्दोलनलाई सफल बनाउन प्रत्येक शिक्षकबाट एक सय रूपैयाँ उठाउन सर्कुलर गरिएको र त्यही उठेको रकमबाट आन्दोलन चलिरहेको उनले बताए। उनले विद्यालय शिक्षा विधेयक अघि बढाउन विभिन्न राजनीतिक दलको ढोकामा गए पनि उनीहरूले वेवास्ता गरेका कारण अहिलेको अवस्था आएको उल्लेख गरे।

आफूहरूको आन्दोलनका कारण पढाइमा पर्ने असरको क्षतिपूर्ति आफूहरू दिन तयार रहेको उनले बताए। अध्यक्ष सुवेदीले बाधा नपारिकन सुन्ने चरित्र राज्यको नभएकाले आफूहरूले कठोर आन्दोलन गर्नुपरेको जिकिर गरे।

 

तपाईको प्रतिक्रिया