काठमाडौं, २ वैशाख २०८२ । त्रिभुवन विश्वविद्यालयले आजबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न अनलाइन सेवा सुरु गरिएको उनले बताए। परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।
आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको दाबी गर्दै परीक्षा नियन्त्रक जोशीले भने, ‘वैशाख २ गते बिहान ११ बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा संचालन हुने जानकारी गराउँदछु । अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना अनुसार २०८२ साल जेष्ठ १५ गतेदेखि त्रि.वि.प.नि.का. बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट सञ्चालन गरिनेछ ।’
कसरी भर्ने अनलाइन फारम ?
अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । पनिकाका अनुसार तोकिएको शुल्क संलग्न बैंकमार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।
यसका लागि प्रारम्भिक चरणमा रजिष्ट्रेसन कार्डमा उल्लेख भए बमोजिम मार्कसिटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा करेक्सन अप्सनमा गएर सच्याएर सबमिट गर्नुपर्नेछ।
अनलाइन वितरण गरिएका मार्कसिट बाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेँलो सक्कल मार्कसीटमा फरक पर्न गए Application ID को slip र पहेंलो सक्कल मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनु पर्नेछ । यसरी फाराम अनलाइन माध्यमबाट submit गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन हुनेछ । पनिकाले विस्तृत जानकारीको लागि संलग्न क्तगमभलत Student Portal Manual हेर्न अनुरोध गरेको छ।