सिमरा, २६ माघ २०८१ । बाराको जितपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिबार दिउँसो मृत भेटिएका छन्। जितपुरसिमरा उपमहानगरपालिका-७ र वीरगन्ज महानगरपालिका-३२ को बीचमा रहेको टेडा रोडको किया सोती खोलामा बालक मृत भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइबाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाईकर्मीले बिहानदेखि किया सोती खोलाको पानी घटाएर फोहोर पन्छाउँदै खोजी गरेको थियो। खोजी गर्दै जाँदा बालक घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्।
पानीमा डुबेको अवस्थामा भेटिएका बालकको शव सुन्निएको छ। उनको मृत्यु कहिले र कसरी भयो भन्ने खुल्न सकेको छैन। प्रहरी टोलीले बालकको शव परीक्षणका लागि कलैया अस्पताल पठाएको छ। प्रहरी नायब उपरीक्षक वाइबाले शल्यपरीक्षण रिपोर्टबाट बालकको मृत्युको कारण खुल्ने जानकारी दिएकी छिन्।
बालक भेटिएको स्थान पथलैया–वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत जितपुर चोकबाट करिब आधा किलोमिटर पश्चिमतर्फ पर्दछ। १० दिनअघि हराएका बालकलाई सीसीटीभी फुटेजमा सोही क्षेत्रको वरपर हिँडिरहेको अवस्थामा देखिएको थियो।
धेरै दिन बितिसक्दा पनि बालकको अवस्था पत्ता लाग्न नसकेपछि प्रहरीले खोलामा डुबेको हुनसक्ने आशंकामा खोजी थालेको थियो। प्रहरीले यसअघि वीरगन्जस्थित विपद् व्यवस्थापनमा रहेका तालिमप्राप्त कुकुर ल्याएर सो क्षेत्रमा बालकको खोजी समेत गरेको थियो। तालिमप्राप्त कुकुर खोलानजिकको सोही सडक हुँदै पश्चिमतर्फ गएको थियो।
रौतहटको दुर्गाभगवती गाउँपालिका-१ घर भएकी रितेश चौधरी र अञ्जली चौधरीले छोरा अंशलाई करिब डेढ महिनाअघि जितपुरस्थित मामाघर पठाएका थिए। पाँच महिनाअघि दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी अञ्जलीले चिसोको समयमा दुई बच्चालाई एकैसाथ स्याहार गर्न गाह्रो भएपछि अंशलाई मामाघर पठाएकी थिइन्।
अंश डेढ महिनादेखि मामाघरमै बस्दै आएका थिए। मामाघरमा उनलाई हजुरआमाले स्याहार गरिरहेकी थिइन्। माघ १७ गतेपनि अंश हजुरआमाकै नजर सामु थिए। अंश घरको आँगनमा खेलिरहेका थिए भने हजुरआमा घरको काम समेत गरिरहेकी थिइन्। त्यसैबेला आँगनबाट बेपत्ता भएका अंश केही समयमा बजार क्षेत्रको सीसीटीभी क्यामरामा एक्लै दौडिरहेको अवस्थामा कैद भएका थिए।
घरवरपरको क्षेत्रमा खोजी गर्दा नभेटिएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय जितपुर, प्रहरी चौकी पथलैयाको प्रहरी टोलीले बालकको खोजी गरिरहेको थियो।